समाचार
वालिङ नगरभित्रका सम्पूर्ण घरहरुमानम्बर प्लेट टाँसिने
वालिङ, १६ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका घरहरुमा नम्बर प्लेट टाँसिने भएको छ । नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरहरुमा नम्बर प्लेट टाँसिने भएको हो । प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरण सहित उक्त नागरिकको घर समेत जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरहरुमा नम्बर प्लेट टाँसिन लागेको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ ३ माझकोटमा औपचारिक कार्यक्रमबाट सुरु गरिएको यस कार्यक्रमले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको बारेमा नगरपालिका जानकार भैरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीतिहरु तयार गर्न सघाउ पुग्नेमा नगर प्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।
स्मार्ट नगरपालिकाको पहिचान बनाएको वालिङले नागरिकको स्वास्थ्य स्थिति थाहा नपाउँदा सम्म हरेक आर्थिक वर्षमा तय गरिने नगरका योजना,नीति तथा कार्यक्रमहरु लागू गर्न कठिनाइ भएको नगर उप प्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
उहाँले स्वास्थ्य नै मानव जीवनको सबै भन्दा ठूलो सम्पत्ति भएकोले नागरिकको स्वास्थ्यको अवस्था अनुसार बजेट निर्माण,योजना कार्यान्वयन तथा अन्य विविध पक्षहरुको वर्गीकरण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । मंसिर १४ गतेबाट सुरु भएको कार्यक्रम एक महिनाको अवधिमा सम्पूर्ण घरहरुमा नम्बर प्लेट टाँस्ने कार्य सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।