समाचार
गल्याङमा नगर स्तरीय हाजिर जवाफ प्रतियोगितामा शिबालय मावि प्रथम
रेडियो आँधीखोला
वालिङ, १७ मंसिर ।
स्याङ्जाको गल्याङ ३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको आयोजनामा आयोजित गल्याङ नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोहमा गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो भन्ने भन्दा पनि विद्यार्थीहरुमा अतिरिक्त ज्ञानको विकास हुने बताउनुभयो । ।
यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुले लोक सेवा,शिक्षक सेवा आयोग जस्ता क्षेत्रमा सफलता हात पार्ने भएकाले पनि सिर्जनात्मक र रचनात्मक कार्यमा विद्यार्थीहरुको सहभागीता गराउनुपर्नेमा उहाँको जोड छ ।
विद्यालयका प्रअ रामकान्त पाठकले विद्यार्थीमा रहेको प्रतिभाको सहि पहिचान गरेर उनीहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा नगरपालिका भित्रका ९ विद्यालयको सहभागिता रहेको कार्यक्रममा प्रथम शिबालय माध्यमिक विद्यालय, दोस्रो चिराग आवासीय माध्यमिक विद्यालय, तेस्रो सार्वजनिक माध्यमिक विद्यालय, सान्त्वना गल्कोट माध्यमिक विद्यालय भएका थिए भने प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो,सान्त्वना हुने विद्यालयले क्रमशः नगद ८ हजार,५ हजार,३ हजार,१ हजार नगद ,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक निम प्रसाद पौडेलले र कार्यक्रमको सञ्चालन शिक्षक लिलाबल्लभ अर्यालले गर्नुभएको थियो ।