समाचार
आँखा जाँच शिविरबाट दुई दिनसम्म २८५ जना बालबालिका लाभान्वित
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
स्याङ्जाको भीरकोटमा विद्यार्थीहरूका लागि आँखा शिविरमा दोस्रो दिनसम्म २८५ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटले “विद्यार्थीसँग लायन्स कार्यक्रम” अन्तर्गत शनिबारदेखि भोली सोमबार सम्र्म ३ दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा अहिलेसम्म २८५ जनाको आँखा जाँच गरिएको छ । पहिलो दिन शनिबार १६२ र दोस्रो दिन आईतबार १२३ जना बालबालिका लाभान्वित भएका छन्। भीरकोट १ मा अवस्थित भीरकोट खेलमैदानमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो । गण्डकी मेडिकल अस्पताल पोखराको प्राविधिक सहयोगमा गरिएको शिविरमा शल्यक्रिया गर्नुपर्ने आँखाका विरामीलाई विषेश छुटको व्यवस्था गरिएको लायन्स क्लबका अध्यक्ष यामप्रसाद अधिकारीले बताउनभयो ।
आँखा शिविरको उद्दघाटनका अवसरमा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले लायन्स क्लब अफ भीरकोटले सामाजिक कार्यहरूमा अग्रसरता लिएकोमा खुशी लागेको बताउनुभयो । समाज सेवाको भावनाले लायन्सले गर्ने जुनसुकै काममा नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख कर्माचार्यले बालबालिकाको हितमा काम गरेकोमा लायन्स क्लबप्रती आभार व्यक्त गर्नुभयो ।
भीरकोटको बालमैत्री अभियानमा सहयोग पुगोस भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको बताउँदै क्लबका अध्यक्ष अधिकारीले लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना अनुसार राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको समेत अवसर पारेर बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरिएको बताउनुभयो ।
शिविरमा विशेषतः विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण र निशुल्क औषधि वितरण गरिएको छ । शिविरमा आँखा रोग विशेषज्ञ डा. लक्ष्मी ओली, शुभेच्छा दाहाल र सुरमाया अधिकारीले सेवा दिनुभएको छ । शिविर आज साँझ ५ बजेसम्म रहनेछ ।