अहिले तरंगमा

केहि छिनमा

समाचार

आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

news

 

मंसिर १९, काठमाण्डौ – आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार, माटोको निःशुल्क जाँच शिविर, माटोको महत्वबारे बहसलगायतका कार्यक्रम गरिरहेको छ ।

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषयलाई विश्वस्तरमै एकताबद्ध रुपमा सम्बोधन गर्ने र व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाउने गरिन्छ ।

खाद्य तथा कृषि संगठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको हो ।

माटो र पानी जीवनका अति उपयोगी र अनिवार्य स्रोत भएकाले जोगाउनुपर्नेमा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले जोड दिनुभयो । रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको विज्ञले बताएका छन् ।

उत्पादनका मुख्य आधारहरु माटो, पानी र मौसम हुन् । कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.नविन रावल बताउनुहुन्छ । भूक्षय तथा वर्षाको पानीले माटो बगाएर लैजाने गरेको छ । नेपालको अनुमानित वार्षिक १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । जसमध्ये पहाडी क्षेत्रबाटै २० देखि ३० टन माटो बग्ने गरेको छ ।

पानीको शुद्धीकरण र भण्डारणमा माटो महत्वपूर्ण हुन्छ । एक हेक्टर माटोले एक लाख ५० हजार लिटर पानी वहन गर्ने क्षमता राख्छ । दिवसका अवसरमा केन्द्रले खेतबारीको माटोको अवस्था स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कृत गर्ने भएको छ ।

नेपालका विभिन्न ठाउँबाट सङ्कलित ३ हजार ४ सयभन्दा बढी कृषि माटोको नमूनामध्ये स्वच्छ माटो कायम गरेका दुई जना किसानलाई नगद १० हजारसहित सम्मान गर्न लागिएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...