समाचार
वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने
वालिङ, २० मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मङ्गलबार यस विषयमा जनप्रतिनिधि, कर्मचारीहरु र विज्ञ विच छलफल भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
उहाँले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउपुग्ने विश्वास लिँदै नगरको पहिचान स्थापना समत हुने उल्लेख गर्नुभयो । घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धिहुने र ग्रामिण तहका नागरिकलाई आत्म निर्भर बन्ने वातावरण हुने स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने बताउनुभयो । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकासले नगरमा करको दायरा समेत फराकिलो बन्ने जानकारी दिनुभयो ।
स्थानीय स्तरमा उपलब्ध आँप,लिची, चिउरी,बेलौती जस्ता फलफूलहरुको उपयोग गरी मदिरा उत्पादन गर्दा त्यस्ता फलफुललाई खेर जान नदिई थप आर्थिक लाभ लिन सकिने नगरपालिकाले जनाएको छ ।