समाचार
गल्याङमा गल्याङ जेसिस सप्ताह सुरु
रेडियो आँधीखोला
वालिङ, २२ मंसिर ।
गल्याङ जेसिसको आयोजनामा आज देखि गल्याङ जेसिस सप्ताह सुरु भएको छ ।सप्ताहको पहिलो दिन आज गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेको गुरुकुलका बटुकहरुलाई भोजन खुवाउने तथा सत्सङ्ग गर्दै कार्यक्रमको उद्घाटन भएको छ ।
कार्यक्रम अन्तर्गत भोलि अर्थात् मंसिर २२, २३ र २४ गते गल्याङबजारमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने गल्याङ जेसिसका अध्यक्ष ऋषि बस्यालले जानकारी दिनुभयो । जेसिस सप्ताह अन्तर्गत २३ गते गल्याङ नगरपालिकाको सिटी हलसँगै रहेको खेल मैदानमा स्लो बाइक तथा स्कुटर रेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, दोश्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई एक हजार पाँस सय रुपैयाँ पुरस्कार राखिएको छ ।
यस्तै, मंसिर २३ गते नै सिद्धार्थ राजमार्गको गल्याङबजारमा जेब्रा क्रसिङ निर्माण गर्ने तय भएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । यसैगरी २४ गते गल्याङ नगरपालिका ११ जिमुहामा रहेको एक विपन्न परिवारलाई सहयोग हस्तान्तर कार्यक्रम राखिएको छ । यस्तै, मंसिर २६ गते गल्याङ जेसिस २०२३ ले निर्माण गरेको प्रतिक्षालय उद्घाटन सँगै सोही दिन जेसिस सप्ताह कार्यक्रम पनि सम्पन्न हुनेछ।