समाचार
भीरकोटमा संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण
रेडियो आँधीखोला
वालिङ, ४ पौष ।
भीरकोट नगरपालिकामा रहेका संस्थागत विद्यालयहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । बालमैत्रि भीरकोट नगरका सबै किशोरीको स्वास्थ्यलाई मध्यनजर गर्दै भीरकोटका ५ वटा संस्थागत विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा नेपाल सरकारले नै सेनेटरी प्याड दिने भएपनि संस्थागत विद्यालयमा त्यो सुविधा थिएन तर भीरकोट नगरपालिकाले भने संस्थागत तथा सामुदायिक दुवै विद्यालयमा अध्ययन गर्ने किशोरी भीरकोटकै किशोरी भएकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने किशोरीलाई सेनेटरी प्याडको सहज पहुँच ल्याउनका लागी यो सुविधा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरका ५ संस्थागत विद्यालयमा अध्ययन गर्ने १२ वर्षदेखि माथि उमेर समुहका बालिका तथा किशोरीहरुको संख्याका आधारमा एक वर्षसम्म पुग्ने सेनेटरी प्याड सोमबार नगरउपप्रमुख भगवती अर्याल, बालमैत्रि सहजकर्ता विष्णुमाया काफ्लेलगायतको टोली विद्यालयमै पुगेर हस्तान्तरण गरेको हो ।