समाचार
वालिङमा राष्ट्रपति कप रनिङशिल्ड प्रतियोगिता शुरु
रेडियो आँधीखोला
वालिङ, ५ पौष ।
विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा खेलाडी उत्पादन गर्ने महत्वपूर्ण नर्सरी भएको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताउनु भएको छ । विद्यालयस्तरबाट विद्यार्थीहरुलाई खेल क्षेत्रमा सरिक बनाउन सक्यौं भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने नगर प्रमुख खाँणले जोड दिनुभयो । स्याङ्जाको वालिङमा बुधबारदेखि सुरु प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोतिाको समुद्घाटन गर्दै नगर प्रमुख खाँणले बाल बालिकाहरुलाई सानैदेखि पढाईसँगै उनीहरुको रुचि अनुसारको खेलकुदमा लगाउनु पर्ने उल्लेख गर्नुभयो ।
नगर प्रमुख खाँणले हिजो पञ्चायतकालमा एक प्रकारले नियमित हुने गरेको खेल अहिले त्यो रुपमा नभएको भन्देै उहाँले भन्नुभयो— “हिजो पञ्चायतकालमा खेलकुदका कार्यक्रम एक प्रकारले नियमित हुने गर्दथे, अहिले त्योरुपमा भएको छैन । अहिले जुन प्रकारले खेल गतिविधि हुनुपर्ने हो त्यो हुन सकेको देखिदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार हामी खेलकुदलाई अगाडि बढाउन सकिरहेका छैनौ ।”
गतवर्ष वालिङले राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेका भन्दै जसले राष्ट्रिय चर्चा पाएकोे उहाँको भनाई छ । उहाँले भन्नुभयो “वालिङले महिला तथा पुरुष फुटवलमा राष्ट्रियरुपमा योगदान पु¥याएको छ, यसबाट हामीले गर्व गर्नुपर्छ । अहिले पनि वालिङका छोराछोरी काठमाडौको खेलमैदानमा आफ्नो खेल प्रदर्शन गरिरहेका छन् । यसको श्रेय वालिङ क्षेत्रका अग्रज खेलाडीहरुप्रति जान्छ ।”
वालिङ नगरपालिकाले जसरी अरु क्षेत्रलाई महत्व दिएको छ त्यसैगरी खेलकुदलाई पनि अझ महत्वपूर्णरुपमा हेरेकोे र स्पष्ट नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर उप प्रमुख कविता तिवारी गैहे«ले गतवर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेको उल्लेख गर्दै खेलसम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो । स्मार्टसिटीको कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै शैक्षिक गुणस्तरसँगै पोशाकलगायतमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुमा एकरुपता ल्याउने प्रयासमा नगरपालिका रहेको बताउनुभयो । यसका साथै विद्यार्थीहरुलाई कमाउदै पढ्दै गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा पारेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरुको सहभागी भएका छन् । प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक दिपेन्द्र खांणले जानकारी दिनुभयो ।
प्रतियोतिाको व्यवस्थापन पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० ले गरेको छ । प्रतियोगिता ६ गते शुक्रबार समापन गरिने आयोजकले जनाएको छ । खेल संयोजक खाँणको अध्यक्षता भएको समुद्घाटन कार्यक्रममा १० नम्वर वडा अध्यक्ष सुनिल खनालले स्वागत मन्तव्य, सञ्चालन दिपक लम्सालले गर्नुभएको थियो ।