समाचार
हामी बोलेरभन्दा काम गरेर देखाउँछौं ः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनकालागि जनता जाग्नुपर्ने बेला आएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनता जागेपछिमात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हो ।
देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नकालागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाई थियो । “देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकहरुमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोंचमा हुनुहुन्छ” उहाँले भन्नुभयो, “अरुबेला चिन्ता गर्नुहुन्छ तर निर्वाचनका बेला उनै भ्रष्टाचारी, तस्करीहरुलाई मत दिनुहुन्छ, अनि कसरी परिवर्तन सम्भव छ ?”
३४ वर्षसम्म जति झुक्कियो, झुक्कियो अब झुक्किने, लोभिने र डर त्रासमा नपरेर मतको सदुपयोग गरेमात्रै परिवर्तन सम्भव हुने दावी उहाँको थियो । देशलाई अध्यारो स्थितिबाट उज्यालोतर्फ अगाडि बढाउने योजना राष्ट्रिय स्वतन्त्र पार्टीसित रहेको दावी उहाँले गर्नुभयो ।
“विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरुको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजनाहरु बनाईरहेको छ” उहाँले भन्नुभयो, “हामी बोलेरभन्दा काम गरेर देखाउँछौं, योजनावद्ध तरिकाले अगाडि बढ्छौं, ढुक्क हुनुहोस् ।”
हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यकालागि पार्टी निरन्तररुपमा लाग्ने उहाँले बताउनुभयो । भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताकासाथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाईएमा तत्कालै कारवाही गर्ने पनि बताउनुभयो । “देशको समृद्धिकालागि भ्रष्टहरुलाई नफाली हुँदैन” उहाँले भन्नुभयो, “भ्रष्टहरुलाई फाल्नकालागि सहज छैन तर निरन्तर लागिपरेमा असम्भव पनि छैन ।”
राष्ट्रिय स्वतन्त्र पार्टीमा देशले चिनेको कम तर देशलाई चिनेका धेरै युवा सांसदहरुको उपस्थिति संसदमा रहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले हिजो स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाको बयरघारी, वालिङ नगरपालिकाको वालिङ र गल्याङ नगरपालिकाको गल्याङ बजारमा सम्बोधन गर्नुभएको हो ।
खुला सभामा पार्टीका केन्द्रीय सदस्य मेघ आले, गण्डकी प्रदेश सभापति राजन गौतम, प्रदेश ईन्चार्ज झविलाल डुम्रे, स्याङ्जा क्षेत्र नं. २ का सभापति टिकराज गुरुङले मन्तब्य ब्यक्त गर्नुभएको थियो । नगरसभाले सुरेन्द्र काफ्लेको सभापतित्वमा नगर समिति गठन गरेको छ ।
काफ्लेको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरिएको छ भने उपसभापति, सचिव, कोषाध्यलगायत अन्य सदस्य पछि मनोनित गरिनेछ । हिजो गठित समितिको सदस्यहरुमा बिजनारायण रेग्मी, कल्पना कार्की, उत्तम खनाल, श्रीधर तिवारी, कल्पनादेवि ढकाल, प्रदिप पाठक रहनुभएको छ ।