समाचार
गल्याङ नगरपालिकाकोे एकीकृत घुम्ती शिबिरमा ६७ प्रतिशत योजना सम्झौता
रेडियो आँधीखोला
वालिङ, १० पौष ।
स्याङ्जाको गल्याङ नगरपालिकाले संचालन गरेकोे एकीकृत घुम्ती शिबिरमा ६७ प्रतिशत योजना सम्झौता भएका छन् । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दामोदर शर्माले नगरपालिकाका ११ वटै वडामा संचालन गरिएको शिविरमा तीन सय २५ वटा योजना सम्झौता भएको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाको वडा नम्बर तीन, ११ र सातमा अन्य वडाको तुलनामा कम योजना सम्झौता भएको बताउनुभयो ।
अधिकृत शर्माले ११ सय ६१ जनाको बिरामी जाँच, आठ सय चार जना सेवाग्राहीलाई पशुसेवा, ३३ सय वटा पशुपंक्षीलाई औँषधी वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार पशुसेवा अन्तर्गत भैँसी, गाई, बाख्रा, वंगुर र कुखुरा रहेका छन् । शर्माले ३३ वटा दूध परीक्षण, आठ सय १२ वटा गोबर परीक्षण, दुई सय छ वटा माटोको नमूना परीक्षण, दुई सय चार जनालाई बाली परामर्श, नौ सय ३९ जनाको स्तन क्यान्सर, आठ सय ८३ जनाको पाठेघरमुखको क्यान्सर, २१ जना आङ्खस्ने समस्या हुनेलाई रिङ राखिएको, १२ जनालाई परिवार नियोजन सेवा, तीन सय नौ जनालाई भिडियो एक्सरे सेवा दिईएको जानकारी दिनुभयो ।
उहाँले वडा वडाका उपभोक्ताको हितलाई मध्यनजर गर्दै नगरपालिकाले एकीकृत घुम्ती शिबिर संचालन गरेको बताउनुभयो । शिविरमा योजना सम्झौता सहित कृषि, पशु तथा स्वास्थ्य जाँच गराउनेहरुको घुइचो देखिएको थियो । मंसिर २५ गते वडा नम्बर एकबाट सुरु भएको एकीकृत घुम्ती शिबिर अन्तिम वडाको रुपमा पुस ६ गते वडा नम्बर छ मा सञ्चालन गरिएको थियो ।
शिबिरमा योजना सम्झौता गर्ने, बैंक खाता खोल्ने, माटो परिक्षण गर्ने, बाली परिक्षण गर्ने, गोबर परिक्षण, पशुलाई जुका तथा माटेको औषधी वितरण गर्ने लगायतका कामहरु भएका थिए । शिबिरमा मानव स्वास्थ्य अन्तर्गत स्वास्थ्य परिक्षण गराउनेहरुको संख्या बढि देखिएको थियो । शिबिरमा चिकित्सकबाट स्वास्थ्य परिक्षण गराउने, भिडियो एक्सरे सेवा लिने, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायतका परिक्षण भएका थिए ।