समाचार
तमु ल्होसारमा नयाँपन, ल्होसारको अवसरमा वालिङदेखि भकुण्डेसम्म सरसफाई गरिने
रेडियो आँधीखोला
वालिङ, ११ पौष ।
तमु सेवा समाज समिति वालिङले हरेक वर्ष तमु ल्होसार अर्थात पुसे पन्ध्र विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसपटकको पुसे पन्ध्र तथा ल्होसार पनि भव्य रुपमा मनाउने तयारी समाजले गरेको छ । यसपटक भने फरकपना सहित कार्यक्रम गरिने समाजले जनाएको छ । यहि पुस १३ गतेबाट शुरु हुने तमू ल्होसारको अवसरमा १६ गतेसम्म हरेक दिन फरक फरक कार्यक्रम गरिने समाजका सचिव तथा तमु ह्युँला छोँज धी गुरुङ राष्ट्रिय परिषदका सचिव समेत रहनुभएका इश्वर गुरुङले बताउनुभयो । यसपटकको कार्यक्रममा सरसफाई तथा विरामीलाई फलफु्ल वितरण थप गरिएको छ ।
पुस १३ गते पैदल रयाली सहित शुभकामना आदानप्रदान गरिने समाजले जनाएको छ । तमु ह्यूँल छोँजधी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिको आयोजना तथा तमु सेवा समाज वालिङ व्यवस्थापनमा हुने शुभकामना आदानप्रदान कार्यक्रमलाई नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्बोधन गर्नुहुनेछ ।
शास्त्र हराए, संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ परम्परा हराए अस्तीत्व हराउँछ भन्ने नाराका साथ समाजले आयोजना गरेको ल्होसार कार्यक्रममा पुस १४ गते दोस्रो दिन वालिङदेखि भुम्रे सम्म सरसफाई कार्यक्रम गरेर गह्रौ प्राथामिक अस्पताल वालिङमा रहनुभएका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम साथै दिउँसो खेलकुद कार्यक्रम, सास्कृतिक कार्यक्रम गरिने छ भने, पुस १५ गते सुभ भोजसहित पुरस्कार वितरण तथ सम्मान कार्यक्रम गरिने समाजले जनाएको छ ।
यसपटक सरसफाई कार्यक्रम थप गरिएको भन्दै सचिव गुरुङले भन्नुभयो, “रितिरिवाज तथा आफ्ना परम्परा मनाउँदै गर्दा समाजलाई सकरात्मक सन्देश दिने खालका कार्यक्रम गरौँ भन्ने ध्येयले सरसफाई कार्यक्रम थप गरिएको छ ।” ल्होसारको दिन बेलुका रोधी कार्यक्रम गर्दै १६ गते तमू ल्होसार समापन गरिने समाजले जनाएको छ । गुरुङ समुदायमा रहेको रोधी बस्ने परम्परा पछिल्लो समय हराउादै गएकाले यसपटक रोधी बस्ने परम्पराको संरक्षण गर्दै पुस्ता हस्तान्तरण होस भन्ने हेतुले यो कार्यक्रम गरिएको समाजले जनाएको छ ।