समाचार
वालिङ नगरपालिकामा वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमाथि छलफल
रेडियो आँधीखोला
वालिङ, १२ पौष ।
वालिङ नगरपालिकामा पूर्वाधार विकासका लागि आवश्यक वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमाथि छलफल भएको छ । सडक निर्माण,बसपार्क निर्माण, ट्रमा सेन्टर स्थापना लगायतका कार्यहरु गर्दा वातावरणमा पर्ने प्रभावका विषयमा तयार पारिएको प्रतिवेदनमाथि छलफल भएको हो ।
वालिङ नगरपालिकाको वडा नं ४, ६, ८ र १० मा निर्माण गर्न लागिएको खेलग्राम,सडक चौडा,बसपार्क निर्माण लगायतका कार्य गर्दा वातावरणमा पर्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्दै विकास निर्माणका काम गर्दा हुने क्षतीका बारेमा छलफल भएको नगरपालिकाले जनाएको छ । छलफल कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले मानिस प्रकृतिभन्दा बाहिर बाँच्न नसक्ने भएकाले निर्माणका कामहरु गर्दा न्यून वातावरणीय प्रभावका बीच काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधारका कामहरु गर्न आवश्यक भएको उल्लेख गर्दै नगरका योजनाहरु सम्पन्न गर्दा आईईई अध्ययन गरेर मात्र गरिने जानकारी दिनुभयो । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा वडा नं ४ को एलादीमा वालिङ नगरपालिका स्तरीय स्थानीय तह खेलग्राम निर्माणको लागि साइट विकास कार्य, वडा नं। ०६ को मिर्दी–जगत९ओडारे सडक खण्ड अन्तर्गत आम्डाली क्षेत्रमा सडक चौडाइको लागि कटान कार्य गर्दा वातावरणमा पर्ने असर र न्यूनिकरणको विषयमा उल्लेख छ ।
त्यस्तै वडा नं.८ को शितल नगरमा वालिङ बस पार्क निर्माणका लागि साइट विकास कार्य, वडा नं. १० को चाल्ने ढुङ्गामा ट्रमा सेन्टर तथा कृषि उपज संकलन केन्द्र निर्माणका लागि साइट विकास कार्य को प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आईइ सार्वजनिक गरिएको छ ।