समाचार
गल्याङमा दोस्रो आलु तथा कृषि महोत्सव २०८० हुने
रेडियो आँधीखोला
वालिङ, १७ पौष ।
गल्याङ चेम्बर अफ कमर्सले दोश्रो आलु तथा कृषि महोत्सव २०८० सञ्चालन गर्ने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको सोमबार बसेको कार्यसमिति बैठकले आलु तथा कृषि महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो । आलु तथा कृषि महोत्सव आगामी फागुन २६, २७ र २८ गते गर्ने निर्णय भएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो महोत्सव गल्याङ नगरपालिकाको वडा नम्बर ११, जिमुहामा रहेको शित भण्डारस्थल सँगै गरिनेछ । महोत्सवको प्रारम्भिक तयारीका लागि अध्यक्ष रानाभाटको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरिएको छ । आलु उत्पादनको उर्भर भूमिको रुपमा रहेको जिमुहामा नै आलु महोत्सव गर्ने तय भएको हो । महोत्सवमा आलुको प्रदर्शनी, विक्री हुनुका साथै अन्य कृषि उपजको पनि विक्री तथा प्रदर्शनी हुने रानाभाटले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय परिकारका स्टल पनि राखिने उहाँले जानकारी दिनुभयो । उहाँले आलु तथा कृषि महोत्सवबाट कृषक र उपभोक्तालाई सिधा फाइदा पुग्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको स्पष्ट पार्नुभयो । महोत्सवमा लत्ताकपडा र अन्य सामानहरु राख्दा स्थानीय बजारबासीलाई थप समस्या हुने भएकाले कृषिमा जोड दिइएको उहाँको भनाई छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा गत वर्ष पनि आलु महोत्सव सम्पन्न भएको थियो ।