समाचार
बालसिद्ध माध्यमिक विद्यालय वालिङ ७ केँवरेको ४८औँ वार्शिकोत्सव
रेडियो आँधीखोला,
वालिङ १ माघ ।
बालसिद्ध माध्यमिक विद्यालय वालिङ ७ केँवरेको ४८औँ वार्शिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । वार्शिकोत्सवको उद्दघाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले वालिङले शिक्षालाई पहिलो प्राथामिकतामा राखेको भन्दै शिक्षाको विकास विना समृद्धि असंभव रहेको बताउनुभयो ।
पछिल्लो समय विद्यार्थीहरु युरोप अमेरिका जाने र उतै परिवारलाई लैजाने परिपाटीको सृजना भईरहेको भन्दै नेपालको पुँजी यसरी नै विदेशिरहेको बताउनुभयो । शिक्षालाई व्यवहारिक र प्राविधिक रुपमा अगाडि बढाउन सकिएन भने देशमा युवाहरुको अभाव हुने नगरप्रमुख खांणले बताउनुभयो ।
शिक्षाको विकासका लागी नगरपालिका एक्लैको प्रयासले मात्रै नहुँने भएकाले यसमा राज्यका सम्बन्धीत निकाय, राजनितिक दल, अभिभाकव, शिक्षाप्रेमी, शिक्षक सबै मिलेर नेपालमै काम गर्ने र नेपाललाई नै माया गर्ने शिक्षाको खाँचो रहेको नगरप्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेले वालिङको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकास र समृद्धिका लागी जनप्रतिनिधि साझा हुनुपर्ने बताउँदै भर्खरै नगरपालिकाले पारित गरेको शिक्षा विधयेकलाई सुधार गर्नुपर्ने बताउनुभयो । शिक्षाको नियमन निकाय र अध्यक्ष एउटै व्यक्ति हुन नसक्ने बताउँदै यसलाई सुधार गर्ने हो भने वालिङमा शिक्षाको वृहत्तर विकास हुने नगरसभापति पाण्डेले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष पाण्डुकुमार थापा नेपाल प्रेस युनियनका जिल्ला उपसभापति गोपिकृष्ण रेग्मी, विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मी राना, युवा रेडक्रस सर्कल बालसिद्ध माविका अध्यक्ष सुमिना सारुलगायतले बालसिद्ध मावि यस क्षेत्रकै नमुना विद्यालय भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक सुन्दर सुवेदीले विद्यालयको १ करोड ७१ लाख ७७ हजार ७३२ रुपैँयाको आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीकान्त रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत विद्यालयका प्राचार्य ताराप्रसाद रेग्मी र संचालन शिक्षक रेशम रेग्मीले गर्नुभएको थियो ।