समाचार
आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर सुरु
रेडियोे आँधीखोला
वालिङ, ३ माघ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले मंगलबारदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन गरिएको बताउनुभएको हो ।
नेलम्बो नेपालको सहकार्यमा आयोजना गरिएको शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरु लाभान्वित हुने पालिकाले विश्वास लिएको छ । शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण भइृरहेको छ ।
दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । गाउँ बस्तीमा पुग्दा होस् वा अन्य समयमा भेट हुँदा प्राय दाँतको समस्या सुनिएको बताउँदै पौडेलले वृद्ध बुबा आमाहरूले दाँत सम्बन्धी समस्या रहेको गुनासो गरेको बताउनुभयो ।
दाँतको उपचार पद्धति अलि जटिल र महङ्गो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै पाचँ दिनसम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिविर गरेको पौडेलले बताउनुभयो । शिविरमा आँधीखोला गाउँपालिका मात्र नभई पुतलीबजार, फेदिखोलाँ र पर्वतको फलेबासका बिरामी समेत सहभागी हुनेछन् ।