समाचार
स्याङ्जा डान्स आईडल प्रतिभा प्रष्फुटनको प्लेटफर्म
रेडियो आँधीखोला,
वालिङ १० माघ ।
वालिङ महोत्सवको मिति नजिकिँदै गर्दा महोत्सवमा हुने विभिन्न इभेन्टसहरुको तयारीलाई तिव्र पारिएको छ । महोत्सवमा आयोजना गरिएको स्याङ्जा डान्स आईडल सिजन ३ पनि महोत्सवको प्रमुख आर्कषण हो । महोत्सवको आयोजक टिम यतिबेला आ–आफ्नो पक्षको तयारी गरिरहेका छन् ।
विभिन्न उपसमिति गठन गरेर महोत्सव तयारीको काम बाँडाफाँड गरि अगाडि बढेको वालिङ उद्योग वाणिज्य संघ यति बेला विभिन्न तयारीमा लागेको छ । संघका उपाध्यक्ष तथा सांस्कृतिक एवं विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालसहितको टिमले यतिबेला स्याङ्जा डान्स आईडलको लागी विभिन्न स्थानहरुमा अडिसन गरिरहनुभएको छ ।
बुधबार भीरकोट १ मा रहेको बालज्योति अगें्रजी आवसिय माविमा डान्स आईडलको अडिसन सम्पन्न भएको छ । अडिसनमा बालज्योतिसहित, बालोदय मावि, जनप्रिय मावि, पब्लिक एकेडेमी माविका १५ जना विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तु गरेका थिए ।
कार्यक्रममा बालज्योति माविका विद्यालय व्यस्थापन समिति अध्यक्ष तथा भीरकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष भक्तबहादुर केसी, प्याप्सनका केन्द्रिय सदस्य तथा बालोदय माविका प्रिन्सीपल अमृत अर्याल, आठौँ वालिङ महोत्सवको सांस्कृतिक तथा विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमिति सदस्य नरेश केसी, श्यामप्रसाद रेग्मी, राजेश भण्डारी, बालज्योति माविका प्रिन्सीपल रमेश देवकोटा, सहायक प्रिन्सीपल सागर पराजुलीलगायतले डान्स आईडल प्रतिभावानहरुका लागी प्रतिभा प्रष्फुटनको प्लेटफर्म बन्ने बताउनुभयो ।
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ यहि माघ १८ देखि २८ गतेसम्म आयोजित महोत्सवमा डान्स आईडल मार्फत स्थानीय प्रतिभाको उजागर गर्ने प्रयत्न गरिएको सांस्कृतिक तथा प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सांस्कृतिक संयोजक अर्यालले भन्नुभयो, “यसअगाडिका महोत्सवमा स्याङ्जा डान्स आईडलका दुई सिजनहरु सम्पन्न भईसकेका छन् । यो तेस्रो सिजन हो, यसबाट हाम्रा स्थानीय प्रतिभाहरुलाई उजागर गर्न र थप आफ्नो प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याउँछ ।”
स्याङ्जा प्रतिभा तथा कलाकारको क्षेत्रमा उर्वर भुमिले चिनिएको भन्दै महोत्सवले स्थानीय प्रतिभा तथा स्थानीय उत्पादनलाई नै पहिलो प्राथामिकता दिएको अर्यालले बताउनुभयो । पछिल्लो समय बढ्दो आधुनिकताका कारण हराउँदै गएको भजन चुड्का, रत्यौली गित प्रतियोगितालगायतका सांस्कृतिक महत्व रहेका गितहरुको समेत संरक्षण गर्न महोत्सवले टेवा पुग्ने अर्यालको भनाई छ ।