समाचार
गठबन्धन बाध्यता हो ः सभापति देउवा
तोलाकान्त बगाले
वालिङ, १० माघ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि पार्टीको बहुमत नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज स्याङ्जाको पुतलीबजारमा सम्बोधन गर्नुहुँदै उहाँले हालको संविधान अनुसार कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।
संविधानमा समानुपातिक समावेशी प्रणालीको ब्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएको उहाँले बताउनुभयो । बहुमत पु¥याउनकालागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।
नेपाली काँग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीहरुसँग गठबन्धन गरेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्नुहुँदै उहाँले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
नेपालमा बहुदलीय ब्यवस्था आएपछि मात्रै विकासमा परिवर्तनहरु देखिन थालेका उहाँको दावी थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको दावी उहाँको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
“काँग्रेस सिद्दियो, सिद्दियो भन्छन् म त जस्ताको तस्तै देख्छु” उहाँले भन्नुभयो, “हामी एकबद्ध भएर अगाडि बढौं ।”
कार्यक्रममा पूर्व महामन्त्री शशाङ्क कोईराला, सहसचिव जीवन परियार, काँग्रेस केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, किरण पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, उपसभापति मेखलाल श्रेष्ठ, केन्द्रीय सदस्य किशोरदत्त बराल, पूर्व सांसद मोहनप्रसाद पाण्डे, काँग्रेस स्याङ्जाका सभापति राजु थापा, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, गण्डकी प्रदेशका पूर्व सांसद भागवतप्रकाश मल्ललगायतले मन्तब्य राख्नुभएको थियो ।
नेपाली काँग्रेस स्याङ्जाका उपसभापति केदार काफ्लेको स्वागतसँगै सुरु भएको जिल्ला सम्मेलनमा सचिव दामोदर लम्सालले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष जनक काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । काँग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।