समाचार
वालिङ महोत्सव ः स्थानीय व्यापारीलाई सहुलियतमा स्टल
रेडियो आँधीखोला,
वालिङ माघ ११ ।
यही माघ १८ देखि २८ गतेसम्म आयोजित आठौँ वालिङ महोत्सवमा स्थानीय व्यापारी व्यवसायीलाई पहिलो प्राथामिकता दिईएको छ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचना” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा यहाँका व्यापारी व्यवसायीलाई पहिलो प्राथामिकतामा राखेर सहुलित दरमा स्टल दिइने भएको हो ।
आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा आठौँ वालिङ महोत्सव प्रचारप्रसार, कलाकार समन्वय तथा बाल उद्यान उपसमितिका संयोजक पिताम्बर खनालले रेडियो आँधीखोलासंग कुराकानी गर्दै भन्नुभयो, “महोत्सव मिति आउन केहि दिन बाँकी रहँदा हामी स्थानीय व्यापारी व्यवसायीकै प्रतिक्षामा छौँ । यहाँका स्थानीय नै महोत्सवमा आएर व्यापार व्यवसाय गर्नुस भन्ने हाम्रो चाहाना हो ।”
महोत्सवमा स्थानीय व्यापारी व्यवसायीहरुलाई ३० प्रतिशत छुट समेत दिईएको भन्दै महोत्सव मिति आउन एक हप्ता बाँकी रहँदा स्थानीय व्यापारी धेरै इच्छुक देखिएको खनालले बताउनुभयो । महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहने भन्दै खनालले बाहिरका धेरै व्यापारी व्यवसायीले स्टल दर्ता गर्न इच्छा राखे पनि अझै केहि दिन स्थानीय व्यापारीका लागी समय दिईएको बताउनुभयो । खर्च अनुगमन तथा स्टल बुकिङ उपसमितिका संयोजक केशव पराजुलीका अनुसार महोत्सवमा यहाँका स्थानीय व्यापारी झण्डै १५० जनाले स्टल बुकिङ गरेको बताउनुभयो ।
जसमा कृषि, फेन्सी तथा कपडा, होटललगायतका रहेका छन् । पराजुलीले भन्नुभयो, “महोत्सवमा स्थानीयहरु स्टल राख्न धेरै चासो राख्नुभएको छ । हामीले संघको सदस्य तथा नियमित नवीकरण गरेका तर आर्थिक अवस्था कमजोर भएकालाई अझै सहुलियतमा स्टल दिनेछौँ ।” महोत्सवमा कृषितर्फ २० ओटा स्टल निशुल्क १० ओटा केहि सहुलियतमा दिने आयोजकले जनाएका छन् ।
महोत्सवका लागी करिव ९५ प्रतिशत स्टल बुकिङ भईसकेको स्टल बुकिङ उपसमितिका संयोजक पराजुलीले बताउनुभयो । महोत्सवबाट यहाँका व्यापारी व्यवसायी नै लाभान्वित होउन भन्ने उद्देश्यले यहाँका व्यापारीलाई विशेष छुटका साथ पहिलो प्राथामिकतामा राखिएको भन्दै स्टल राख्न चाहाने तर पैसा नभएका सदस्यलाई सहुलियतमा स्टल दिएर पैसा आर्जन गर्ने वातावरण सृजना गर्ने संयोजक पराजुलीले बताउनुभयो ।