समाचार
वालिङको पहिचान हो ः वालिङ महोत्सव
रेडियो आँधीखोला,
वालिङ १२ माघ ।
वालिङ महोत्सव आउन ६ दिन बाँकी रहँदा स्टल निर्माण, बालउद्यान निर्माण, प्रचारप्रसार, बजार सजावटलगायतका कार्यहरु तिव्र गतिमा अगाडि बढेका छन् । वालिङ उद्योग वाणिज्य संघ तथा वालिङ नगरपालिकाको संयुक्त आयोजनामा यही माघ १८ देखि २८ गतेसम्म हुने आठौँ वालिङ महोत्सवमा विभिन्न उपसमितिहरुले आ–आफ्नो तयारी तिव्र पारेका हुन् । उद्योग वाणिज्य संघले हरेक २ वर्षको फरकमा महोत्सव आयोजना गर्दै आएपनि कोभिड १९ कारण ५ वर्षपछि यो आठौँ संस्करणको महोत्सव हुँदैछ । संघका वरिष्ठ उपाध्यक्ष तथा अतिथि सत्कार उपसमितिका संयोजक अनुपमा ढुंगाना तिवारीले वालिङ महोत्सव यहाँको पहिचान भएको बताउनुभएको छ ।
रेडियो आँधीखोलासंग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष तिवारीले वालिङ महोत्सवले वालिङको पहिचानलाई राष्ट्रिय स्तरमा पु¥याएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “वालिङ महोत्सव पहिचानसंग जोडिएको छ । आँधीखोलाको किनारमा आयोजना गरिँदै आईएको महोत्सवको धार्मिक महत्व पनि त्यत्तिकै छ । श्रवणकुमारको बुवाआमाको अस्रुधाराबाट बगेको आँधीखोला किनारमा महोत्सव हुनु आँफैमा गौरवको विषय हो ।” महोत्सवको माध्यमबाट ग्रामिण क्षेत्रमा उत्पादन भएका अग्र्रानीक वस्तुको बजारीकरण हुँने साथै यहाँ उत्पादन भएका उपजहरुको प्रचारप्रसार समेत हुँदै आएको तिवारीले बताउनुभयो ।
कोरोना महामारीका कारण आर्थिक चलायमान हुँन नसकिरहेको अवस्थामा महोत्सवले यहाँको आर्थिक अवस्थालाई चलायमान बनाउने उहाँले बताउनुभयो । वालिङ महोत्सव वालिङ उद्योग वाणिज्य संघको मात्रै नभई यो सबैको साझा महोत्सव भएकाले यसलाई सफल बनाउँन सम्पुर्ण वालिङ बासी एकजुट भएर लागिपरेको तिवारीले बताउनुभयो ।
त्यस्तै महिला उद्यमी विकास समितिका अध्यक्ष तथा महिला एवं आमा समुह व्यवस्थापन उपसमिति संयोजक मन्जु केसीले महोत्सवले परम्परागत संस्कृतिको जर्गेणा गर्ने बताउनुभएको छ । महोत्सवमा आयोजना गरिएको र रत्यौली गित प्रतियोगिता, भजन प्रतियोगिता जस्ता प्रतियोगिताले पुख्यौँदेखि चल्दै आएको परम्परालाई जर्गेणा गर्दै पुस्ता हस्तान्तरण गर्न मद्दत पुग्ने बताउनुभएको हो ।
महोत्सवमा १४ वडाका १ समुहका दरले रत्यौली गित प्रतियोगिता हुने र ठुलो वडाबाट दुई समुह पनि हुन सक्ने भन्दै नगरमा रहेका आमा समुह, विभिन्न जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्नो भेषभुषासहितको ¥याली तथा झाँकी प्रर्दशनी गरिने केसीले बताउनुभययो । महोत्सव मिति नजिकिँदै गर्दा बजार पनि झिलिमिली हुन थालेका छन् ।
बजार तथा चोक चोकमा महोत्सवका व्यानर, ध्वजापतकाले बजार भिलिमिलि बनेका हुन् । बजार सजावट उपसमिति संयोजक चुत्रकुमारी थापा दुर्गाका अनुसार बजार सजावट ७० प्रतिशत सम्पन्न भएको छ । बजारबासीहरुले महोत्सवको स्वागतका लागी आतुर अवस्थामा रहेको भन्दै महोत्सव मिति नजिकिँदै गर्दा यहाँका व्यापारी व्यवसायी उत्साहित भएको थापाले बताउनुभयो । महोत्सवले यहाँका व्यापारी व्यसायीको मात्रै नभै ग्रामिण भेगमा रहनुभएका कृषक तथा उद्यमीहरु आर्थिक अवस्था चलायमान हुने उहाँको भनाई छ ।