समाचार
जनसहभागिताले वालिङ महोत्सव सफल हुन्छ ।
रेडियो आँधीखोला,
वालिङ १५ माघ ।
यही माघ १८ देखि २८ गतेसम्म हुने आठौँ वालिङ महोत्सव जनसहभागिताले सफल हुने वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरुले दावी गरेका छन् । २०६३ सालबाट शुरु गरिएको वालिङ महोत्सवले यहाँको आर्थिक तथा सामाजिक विकास भएको भन्दै वालिङ महोत्सव अन्यको भन्दा फरक रहेको आठौँ वालिङ महोत्सवका निर्देशक तथा वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल बताउनुहुन्छ ।
रेडियो आँधीखोलासंग कुराकानी गर्दै महोत्सवका निर्देशक पौडेलले भन्नुभयो, “वालिङ महोत्सवको छुट्टै शान, मान र पहिचान छ । वालिङ महोत्सवको तुलना अन्य महोत्सवसंग हुँदैन यसको आफ्नै पहिचान छ ।” वालिङ महोत्सव कोभिडका कारण ५ वर्षको अन्तरालमा आयोजना गरिएको भन्दै महोत्सवको प्रतिक्षामा आम सर्वसाधारण रहनुभएकाले महोत्सव स्याङ्जा जिल्लाबासीको जनसहभागिताले नै महोत्सव सफल हुने उहाँको भनाई छ ।
वालिङ महोत्सवमा आम सर्वसाधारणको अपनत्व रहेको भन्दै महोत्सवले ग्रामिण भेगमा उत्पादन भएका उपजले बजार पाउने पौडेलको भनाई छ । उहाँले भन्नुभयो, “महोत्सवलाई स्थानीय व्यापारी मैत्रि बनाउने उद्देश्य हाम्रो हो । हामीले स्थानीय व्यापारीलाई विषेश छुटमा स्टल राख्न अनुरोध गरेका छौँ । महोत्सवले यहाँका धेरै पक्षहरुलाई फाइदा पु¥याउँछ । यहाँको कृषि, पर्यटनलाई प्रर्वद्धन गर्छ नै, यहाँको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न पनि उत्तिकै भुमिका खेल्दै आएको छ ।”
वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा महोत्सवका मुल्यांकन समितिका संयोजक ल्या.यामबहादुर गुरुङका अनुसार महोत्सवलाई समय सापेक्ष रुपमा अगाडि बढाइएको बताउनुभयो । यसपटकको आठौँ महोत्सवमा कृषि यान्त्रीकरणको जानकारी गराउने र यसले कृषकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने भन्दै विगतभन्दा अहिलेको महोत्सव परिर्माजित हुँदै गएको बताउनुभयो ।
महोत्सवको शुरुवात आफ्नै नेतृत्वमा रहेको भन्दै वालिङ महोत्सवले यहाँका उत्पादनहरुको बजारीकरण तथा प्रचारप्रसारमा टेवा पुगेको बताउँदै स्थानीयलाई नै महोत्सवमा स्टल राख्न विगतदेखि नै प्राथामिकता दिईएको ल्या. गुरुङले बताउनुभयो । वालिङ महोत्सवलाई हेर्ने दृष्टिकोण राष्ट्रिय स्तरमै विषेश रहेको भन्दै यो साखलाई जोगाउँदै यहाँको गरिमालाई थप उचाईमा पु¥याउन आठौँ महोत्सवले टेवा पुग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महोत्सव सफल पार्नुपर्छ । यो सिंगो यहाँको गरिमासंग जोडिएको छ । महोत्सव सफल या असफल हुँदा एक व्यक्ति होईन सिंगो वालिङले त्यसको श्रेय लिनुपर्ने अवस्था हुन्छ ।”