समाचार
दर्शकको माया र सहभागिाले सफल हुँदै वालिङ महोत्सव
रेडियो आँधीखोला,
वालिङ २२ माघ ।
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवको मध्यअवधि सम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको आयोजकले दावी गरेका छन् । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित आठौँ वालिङ महोत्सव यही माघ १८ गतेबाट शुरु भएको हो । महोत्सवको पाँचौ दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति रहेको भन्दै महोत्सव सफलता तर्फ अगाडि बढिरहेको आयोजकले दावी गरेको छ ।
महोत्सवमा पाँचौ दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले भन्नुभयो, “महोत्सवको पाँचौ दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ । प्रतिकुल मौसमका बाबजुद दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।” महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राख्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक अनुपमा ढुंगाना तिवारीले भन्नुभयो, “धेरै वर्षपछि कलाकारसंग रम्ने अवसर महोत्सवले प्रदान गरेको छ । बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च वालिङ सावित भएको छ । महोत्सवको आधा समयसम्म आईपुग्दा धेरै उत्साहजनक नै छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।” महोत्सवको आधा समय सम्म आईपुग्दा महोत्सवले आयोजकलाई थप आगामी दिनका लागी समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक तिवारीले महोत्सव समग्र स्याङ्जाकै शान भएको बताउनुभयो ।
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको देखिएको छ ।
महोत्सवको पाँचौ दिन सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नभएको थियो भने राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुतिले महोत्सवको माहोललाई निकै रोमाञ्चक प्रदान गरेको थियो । त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुतिले दर्शक निकै उत्साहित बनेका थिए ।
त्यस्तै भोली मंगरबार पछिल्लो समय धेरै युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहनेछ भने खुमन अधिकारी, जिवन दहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाहि, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठको प्रस्तुति रहनेछ भने नृत्यकार सलिना थापाको समेत प्रस्तुति रहनेछ ।
दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्र्तगत स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य, रत्यौली गित र लोक भजन प्रतियोगितामा विभिन्न प्रतियोगिहरुले आफ्ना एकल तथा सामुहिक प्रस्तुति प्रस्तुत गरेका थिए । २०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महा उत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका स्टलहरु राखिएका छन् ।