समाचार
वालिङ महोत्सव, केराका थामका सामग्रीमा दर्शकको ध्यान
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो । उद्योग वाणिज्य सङ्घले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पिताम्बर भुसालले बताएन्ुभ्इइँे ।
स्थानीय उत्पादनको प्रचार–प्रसार, प्रोत्साहन, प्रवर्द्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलब्ध गराएको हो । गाउँपालिकाले त्यसै खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ ।
गाउँपालिकाको तर्फबाट कक्षमा रहेकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले निकै चासोका साथ सामग्रीको अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताउनुभयो । गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो ।
गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो । केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठ जनालाई गाउँपालिकाले रोजगारी दिएको छ । अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उहांले बताउनुभयो ।
गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ । गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उहांले बताउनुभयो ।
रासस