समाचार
भजन प्रतियोगितामा दर्शकको आर्कषण
रेडियो आँधीखोला
वालिङ, २६ माघ ।
आठौँ वालिङ महोत्सवमा हरेक दिन विभिन्न प्रतियोगिताहरु हुने गरेका छन् । बालप्रतिभा प्रष्फुटनका लागी स्याङ्जा डान्स आईडल, विद्यालय स्तरीय नृत्य देखि धार्मिक तथा सांस्कृतिक परम्परासंग जोडिएको भजन चुड्का प्रतियोगिता र रत्यौली प्रतियोगिता दैनिक प्रतियोगिताहरु हुन् । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा यसअघिका संस्करणहरुमा समेत यस्ता प्रतियोगिताहरु हुँदै आएका छन् भने यसपटक गरिएको भजन प्रतियोगिता भने यसअघिका संस्करणमा गरिएको थिएन् ।
महोत्सवको उद्दघाटनको भोलीपल्टदेखि नै प्रतियोगितामा प्रतिष्पर्धा गर्न नाम दर्ता गराएका विभिन्न समुहहरुले आ–आफ्ना प्रतियोगिताहरु प्रस्तुत गरेका छन् । विहिबार जुनेली भजनकृतन समुह कालिकाकोटसहित अन्य प्रतियोगि समुहहरुले आफ्ना प्रस्तुति राखे । महोत्सवको आर्कषणको रुपमा रहेका कलाकारहरुसंगै यस्ता धार्मिक तथा सांस्कृतिक प्रतियोगिताहरुले दर्शकको ध्यान तानेका छन् ।
विहिबार जुनेली भजनकृतन समुहले नाटकीय शैलीमा आफ्ना भजन प्रस्तुत गर्दा धेरै दर्शक मञ्चमा केन्द्रित भए । भीरकोट ९ र वालिङ १४ का विभिन्न व्यक्तिहरुको समुह जुनेली भनजकृतन समुहले प्रस्तुत गरेको हनुमान लिलाले धेरै दर्शकलाई मञ्चतर्फ केन्द्रित गर्न सफल भयो ।
जुनेली भजन समुहले विद्यालयमा समेत यस्ता विषयवस्तुलाई पाठ्यक्रममा नै समेटेर विद्यार्थीलाई भजनकृतनको ज्ञान समेत प्रदान गरेको समुहका रोमाकान्त न्यौपानेले बताउनुभयो । हनुमान नाँच रामायणको सुन्दर काण्डको कथावस्तुमा आधारित रहेको भन्दै यो नाँचले आम मानिसलाई गर्न सकिन्छ भन्ने उत्प्रेरणा प्रदान गर्ने पिपलडाँडा माविका प्रधानाध्यापक समेत रहनुभएका न्यौपानेले बताउनुभयो । राम लक्ष्मण, सिता, हनुमान, रामणको पात्रहरु समेत सहभागि बनाईएको हनुमान लिला प्रस्तुत गरिएको थियो । महोत्सवमा मौलिक परम्परालाई प्रर्दशन गर्दै जर्गेणा होस भन्ने हेतुले हनुमान नाँच प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
नाटकीय शैलीको भजन गितमा सिताको अपहरणदेखि हनुमानले खोेजेर ल्याइएको सम्मका दृष्यहरु समेत प्रस्तुत गरिएको थियो । महोत्सवमा आयोजना गरिएका यस्ता विभिन्न प्रतियोगिताले सांस्कृतिक र धार्मिक परम्परालाई जागाई राख्ने तथा नयाँ पुस्तालाई जानकारी गराउन समेत मद्दत पुग्ने महोत्सव सांस्कृति उपसमितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।