समाचार
जनपुस्तकालय धनगढीले प्रदान गर्ने राष्ट्रिय लोक–संस्कृति पुरस्कार स्याङजाका डा. खनाललाई
रेडियो आँधीखोला
वालिङ, २८ माघ ।
ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री– कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० स्याङजाका डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ । स्याङ्जामा जन्मेर हाल पोखरालाई कार्यथलो बनाइरहनुभएका साहित्यकार तथा संस्कृतिविद् डा.खनाललाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । कैलाली जनपुस्तकालय धनगढीको शनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो ।
पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा. खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताउनुभयो । समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ।
लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा. जोशीले जानकारी दिनुभयो । पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आउनुभएको छ । उहाँले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल समेत तयार गर्नुभएको छ ।
डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसंगको सहकार्यमा अनुसन्धानको काम गरिरहनुभएको छ । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उहाँको निरन्तर सक्रियता रही आएको छ ।