समाचार
गाउँमा विकास पुग्यो तर वस्ती रित्तो हुँदै गएको भन्दै पुर्व मन्त्री अर्यालको चिन्ता
गाउँमा विकास पुग्यो तर वस्ती रित्तो हुँदै गएको भन्दै पुर्व मन्त्री अर्यालको चिन्ता
रेडियो आँधीखोला,
वालिङ २८ माघ ।
पुर्व मन्त्री पद्मा कुमारी अर्यालले गाउँमा विकास पुग्दा उर्जाशील जनशक्ति बाहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभभएको छ । वालिङमा आठौँ वालिङ महोत्सवको समापन गर्दै पुर्व मन्त्री अर्यालले गाउँमा शिक्षा, स्वास्थ्य, सडकलगायतका भौतिक पुर्वाधार पुगिरहेको भएपनि गाँउ रित्तो हुँदै गएको भन्दै यसका बहस गर्न आवश्यक रहेको बताउनुभएको हो । गाउँमै बस्ने आफ्नै देशमै स्वारोजगार बन्ने वातावरणको सृजनाका लागी नयाँ बहस गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।
देशको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत योगदान निजि क्षेत्रले धानेको भन्दै यति धेरै योगदान गर्ने निजि क्षेत्र किन निराश भएको भन्ने विषयको जड पत्ता लगाउनपर्ने भन्दै उहाँले भन्नुभयोे, “राष्ट्रको पुँजी निर्माण गर्ने क्षेत्र सिथिल हुँदै गएको अवस्था छ । देशमा व्यापार घाटा बढिरहेको छ भने राजस्व संकलन कम हुँदा मुलुक कहाँ जाँदै छ भन्ने विषय सोँचनीय रहेको छ ।” देशका विभिन्न क्षेत्र समस्याग्रस्त बन्दै गएको भन्दै नेपाल आर्थिक रुपमा कमजोर हुँदै गएकोमा उहाँको चिन्ता थियो ।
अहिले भन्दा आउने वर्ष आर्थिक अवस्था झनै कमजोर हुँने प्रक्षेपण गरिएको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । देशको विकास र समृद्धिका लागी सरकार सचेत हुनुपर्नेमा जोड दिँदै योजनावद्ध ढंगले सरकार अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले वालिङ उद्योग वाणिज्य संघ वालिङको पहिचान र विकासका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री तिवारीले प्रदेशले एक घर एक धाराको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्ेको भन्दै खेतियोग्य जमिन सिंचाईको अभावले बाँझिने अवस्था नआउने बताउनुभयो ।
मन्त्री तिवारीले प्रदेश सरकारले स्याङ्जाकोे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधारलगायतमा प्रथामिकता दिएको भन्दै स्याङ्जामा प्रदेशका कतिपय योजना निर्माणाधिन रहेको र कतिपय आगामी वर्षमा समेटिने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद महेश भट्राई, निर्मला थापा, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, नेपाली कांगे्रस वालिङका सभापति नेत्रप्रसाद पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, पुर्व अध्यक्ष मञ्चका अध्यक्ष पुण्यप्रसाद अर्याल, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक चेतनारायण श्रेष्ठले आठौँ वालिङ महोत्सव सफल भएको भन्दै महोत्सवमा ३ लाख भन्दा धेरै दर्शकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेलाको अवलोकन गरेको बताउनुभयो । आयोजकको लक्ष्य भन्दा बढि अर्थात १० करोड भन्दा बढिको व्यापारिक कारोबार भएको भन्दै मेलाले स्थानीय तथा घरेलु उद्यमीद्धारा उत्पादित वस्तुको विक्रि तथा बजारीकरणको लागी टेवा पुगेको श्रेष्ठले बताउनुभयो । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
यसैबीच महोत्सवमा आयोजित स्याङ्जा डान्स आईडल सिजन थ्रिको उपाधि जस्मिन थापाले प्राप्त गर्नुभएको छ भने दोस्रो स्थान सोफिया गुरुङले प्राप्त गर्नुभएको छ त्यस्तै तृतिय स्थान श्रेया थापा र रुहानि श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
त्यसैगरी विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सगरमाथा आवसिय मावि प्रथम, बालसिद्ध मावि द्धितिय र भुपूसैनिक आवसिय मावि तृतिय भएका छन् भने बालविद्या मावि शान्त्वना भएका छन् ।
त्यस्तै भजन गित प्रतियोगितामा राधाकृष्ण भजन समुह चापाकोट ६ साँखर प्रथम, जुनेली भजन समुह कालिकाकोट द्धितिय, महिमा भजन समुह मग्याम चिसापानी तृतिय र उत्तर बाहिनी भजन समुह शान्त्वना भएका छन् ।
त्यस्तै रत्यौली गित प्रतियोगितामा बायटारी भाउजु समुह प्रथम, सुर्कौदी आमा समुह द्धितिय, शिवमन्दिर आमा समुह तृतिय र भिमटारी आमा समुह तृतिय भएका छन् ।
महोत्सवमा स्याङ्जा डान्स आईडल, रत्यौली, भजन चुड्का, विद्यालयस्तरीय नृत्य प्रतियोगिताहरु आयोजना गरिएको थियो । यही माघ १८ देखि शुरु भएको वालिङ महोत्सव आज समापन भएको हो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति विभिन्न स्थानिय तथा राष्ट्रिय व्याण्डहरुको प्रस्तुति रहेको थियो । महोत्सवमा स्थानीय हस्तकलाका सामाग्री, कृषिका सामाग्री, फेन्सी तथा कष्मेटिक र होटलहरुका झण्डै ४०० स्टलहरु रहेका थिए ।