समाचार
अबको ३ वर्षमा वालिङलाई क्षयरोग मुक्त बनाउँछौ ः नगरप्रमुख खांण
रेडियो आँधीखोला,
वालिङ १० चैत्र ।
वालिङ नगरप्रमुख कृष्ण खांणले अबको तिन वर्षमा वालिङ नगरपालिकालाई क्षयरोग मुक्त बनाउने प्रतिवद्धता जनाउनुभएको छ । “हो हामी क्षयरोग अन्त्य गछाँै” भन्ने नाराका साथ वालिङ १२ को सिर्सेकोट स्वास्थ्य चौकीमा आयोजित एक दिने क्षयरोग जाँच शिविरको उद्दघाटन गर्दै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो । विभिन्न वडा वडामा पुगेर घुम्ती शिविरमार्फत नागरिकलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउनका लागी यस्ता कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
नागरिक स्वस्थ भए नगर स्वस्थ रहने भन्दै नागरिकलाई वडास्तरमा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले परिणाम देखिने गरी काम गरेको भन्दै नागरिकमैत्रि कार्ययोजनाहरु अगाडि बढाईएको बताउनुभयो । साथै उपप्रमुख तिवारीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पुरस्कार समेत प्राप्त गरिसकेको भन्दै अन्य शिक्षा, कृषि, खानेपानी लगायतका आधारभुत आवश्यकतालाई सहज बनाईने बताउनुभयो । कार्यक्रममा वालिङलाई क्षयरोग मुक्त बनाउनका लागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा अब टिभिलाई हटाउनु छ देशलाई जिताउनु छ लगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।
वालिङ नगरपालिकाभित्र मात्रै ३९ जना क्षयरोग लागेका बिरामी रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा १३१ क्षयरोगका बिरामी रहेको तथ्याङ्क सार्वजनिक हुदाँ सबैभन्दा बढी बिरामी वालिङमै रहेको देखिएको छ ।
हरेक वडामा क्षयरोग शिविर आयोजना गर्दै क्षयरोग बिरामीको पहिचानलाई तिब्रता दिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो । खोकी लाग्दा सामान्य मानेकै कारण ग्रामिण क्षेत्रका नागरिकमा क्षयरोग हुनसक्ने अनुमान हाम्रो रहेकाले ग्रामिण बस्तीमै प्रथामिता दिएर शिविर आयोजना गरको उहांले बताउनुभयो । ६० जनाको स्वास्थ्य परिक्षण गर्दा ४० जना शंकास्पद र १२ जनाको खकार नमुना परिक्षणका लागि लिइएको पाण्डेले बताउनुभयो । शंकास्पद रहेका ४० जनालाई वालिङ नगर अस्पतालमा आउन अनुरोध गरेको उहाँले बताउनुभयो ।
नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने टिभिका लक्षण हुन् । क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो ।