समाचार
प्राविधिक शिक्षा आजको आवश्यकता ः सांसद तिवारी
रेडियो आँधीखोला
वालिङ, १२ चैत्र ।
गण्डकी प्रदेश सभाका सांसद कल्पना तिवारीले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । वालिङ बहुमुखी क्याम्पसको १३औँ अधिवेसनबाट निर्वाचित संचालक समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले यस्तो बताउनुभएको हो । देशकै जेठो क्याम्पस वालिङ बहुुमुखी क्याम्पस सबैको सहयोगमा स्थापना गरिएको भन्दै यसलाई अगाडि बढाउन सबै मिल्नुपर्नेमा सांसद तिवारीले जोड दिनुभयो । नेपाली कांगे्रस गण्डकी प्रदेश उपसभापति समेत रहनुभएकी तिवारीले क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउनका लागी प्राविधिक विषयहरुलाई समावेश गराउनुपर्नेमा जोड दिनुभयो ।
क्याम्पसलाई देशकै नमुना आंगिक क्याम्पसको रुपमा विकास गर्नका लागी प्रदेश सरकारबाट समेत सहयोग रहने भन्दै आँफू पढेको क्याम्पसलाई थप शैक्षिक वृद्धि गर्न आँफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा क्याम्पसका निर्वतमान अध्यक्ष हुमकान्त कोईराला, प्रध्यापक संघका अध्यक्ष वाईबि कुँवरले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पसका अध्यक्ष उदय श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन क्याम्पस प्रमुख युवराज पाठकले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।