समाचार
भीरकोटले निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर गर्दै
वालिङ, २१ चैत्र ।
स्याङ्जाको भीरकोट नगरपालिकाले विषेशज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर मार्फत नागरिकलाई स्थानीय स्तरमै विषेशज्ञ सहितको सेवा दिने भएको छ । यहि चैत्र २९ गते जिल्ला स्वास्थ्य कायर्कालय र भीरकोट अस्पतालको प्राविधिक सहयोगमा भीरकोटले वडा नं. ३ को रोजीखोलामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर गर्ने भएको हो भने ३० गते भीरकोट नगर अस्पतालमा विषेशज्ञ सहितको वृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
नगर अस्पतालमा आयोजना गरिएको शिविरमा जिल्ला अस्पताल, मनमोहन मेमोरियल अस्प्ताल काठमाडौको प्राविधिक सहयोगमा विषेशज्ञ सहितको निशुल्क शिविर हुने भएको हो । नगर अस्पतालमा हुने शिविरमा सिनियर सर्जन डा. मज श्रेष्ठ, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा.मनोर दिन सैयद, जनरल फिजिसियन तथा रेडियोलोजीष्ट डा. इश्वर सिम्खडा, नाक कान घाँटी रोग विषेशज्ञ डा. नवराज बराल, हाडजोर्नी विषेशज्ञ डा. उजोन शाक्य, फिजिसियन डा. प्रशन्न बोहरा, बालरोग विषेशज्ञ डा. धनुमाया गुरुङ, नर्सिङ विभागका सुनिला श्रेष्ठ, सुजिता गिरी, फर्मासिष्ट रन्जित गिरी र व्यवस्थापक संजिव कंडेलको टोलीले सेवा दिनेछन् ।
शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर सम्मका प्रजनन् रुपमा सक्रिय महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या, अब्स्टेट्रिक फिस्टुला र बाझोपना सम्बन्धी चेक जाँच हुने नगरपालिकाले जनाएको छ ।
स्थानीय स्तरमै विषेशज्ञ सहितको सेवामार्फत नागरिकलाई सहज स्वास्थ्य पहुँच पुर्याउने प्रयास स्वरुप समय समयमा यस्ता विषेशज्ञ सहितको घुम्ती शिविर नगरपालिकाले संचालन गर्दै आएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरूको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका तथा हुने सम्भावित खतरामा रहेका महिलाहरूको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो ।
मनमोहन मेमोरियल अस्पतालका डा. मनोहर मियाले पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केही मात्रामा समाधान हुने र हरेक महिलाले ३० देखि ६० वर्ष उमेरमा चेकजाँच गर्नुपर्ने बताउनुभयो । महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मात्रै पनि धेरै रोगबाट बच्न सकिने डाक्टर मियाको भनाइ छ ।