समाचार
वालिङ १३ मा ५ वर्षपछि बाह्रबिसे मेला लाग्ने
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख ।
वालिङ १३ मा यस वर्ष मेला (बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष राम नवमीको दिनमा लाग्दै आएको बाह्रबिसे बजार (मेला) देशमा कोरोनाको महामारी संगै रोकिएको थियो । यो वर्ष भने स्थानीय युवाहरुको पहल, पहेले युथ क्लवको सक्रियता र वडाको सहयोगमा मेला लाग्ने मेलाको लागि निरन्तर पहल गर्दै आउनुभएका स्थानीय अर्जुन गौतमले जानकारी दिनुभयो ।
स्थानीय यज्ञ पाठकले आफूले ३ दिनसम्म बाह्रविसे मेला लागेको स्मरण गर्नुहुन्छ । पाठकले भन्नुभयो, हाम्रो बुवाको पालामा त ५ दिनसम्म हुन्थ्यो रे मैले तिन दिनसम्म मेला भएको थाहा पाउँछु । कोरोना अगाडिसम्म मेला लाग्थ्यो कोरोनाकालपछि हुन नसकेको मेला यो वर्ष युवाहरुले निरन्तरता दिनुपर्छ भनेर लागेका छन् खुसी लागेको छ ।, मेलामा रोधी बस्ने, विविध सांस्कृतिक कार्यक्रम हुने, स्थानीय वस्तुको विक्रिवितरण हुने, साथीभाई जम्मा हुने दुखसुख साट्ने गरिन्थ्यो भने आजभोली यस्ता मेलाहरु हराउँदै जान थालेकोमा युवाहरु यसको संरक्षण तथा निरन्तरतामा लागेको पाठकले निकै खुसी लागेको बताउनुभयो ।
मेलामा विभिन्न स्टलहरु राखिनेछ भने स्टलहरुमा स्थानीय उत्पादनहरुलाई विक्रिका लागी राखिने पहेँले युथ क्लवका अध्यक्ष ज्ञान बहादुर थापाले बताउनुभयो । बाह्रबिसे बजारलाई पुन सञ्चालनमा ल्याउनको लागि वालिङ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले विषेश सहयोग गरेको छ । लामो समय पछि बाह्रबिसे बजार लाग्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएका छन्। परम्परागत रुपमा हुने स्थानीय मेलाको छुट्टै महत्व रहेको भन्दै मेलालाई आगामी वर्ष थप व्यवस्थित गर्दै लगिने वडा नं.१३ का अध्यक्ष नमलाल डुम्रेले बताउनुभयो । मेलाले स्थानीय उपजलाई बजारीकरण गर्न र परम्पराको पुस्ता हस्तान्तरणमा मद्दत पुग्ने अध्यक्ष डुम्रेले बताउनुभयो । वडाले विषेश सहयोग गर्ने यो मेलाको आयोजना गर्न क्लबलाई जिम्मा दिएको अध्यक्ष डुम्रेले बताउनुभयो ।
वालिङ १३ को बाह्रबिसे फाँटमा लाग्ने बजार कोभिड–१९ को संक्रमण संगै लाग्न छाडेको थियो । बाह्रबिसे बाजारलाई पुन सञ्चालन गरेर पहिले देखि चल्दै आएको परम्परा संरक्षणमा सबैले चासो राख्नुपर्ने देखिन्छ।
मेला भर्न आउनेहरुले माटोबाट बनेका सामग्रीहरु हाँडी, घैटो, खुत्रुके लगायतका घरयासी प्रयोजनका लागि आवश्यक पर्ने समग्रीको किनमेल गर्नुका साथै स्थानीयले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएर बिक्रि गरेर आम्दानी गर्ने एउटा अवसरको रुपमा प्रयोग हुन सक्छ ।