समाचार
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
रेडियो आँधीखोला,
वालिङ ५ बैसाख ।
आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।
धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।