समाचार
सीप सिकाईसहित स्वरोजगारी सिर्जनामा बिरुवा गाउँपालिका
रेडियो आँधीखोला
वालिङ, ८ बैशाख ।
“समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको स्याङ्जाको विरुवा गाउँपालिकाले स्थानीय आवस्यकताको खोजी गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
शीप सिकाई तथा तालीमको आयोजना गरेर नागरिकहरुलाई उद्यम विकासमा गाउँपालिकाले प्राथमिकता दिएको छ । स्थानीयस्तरमै व्यवसायी बनी आय आर्जनमा लाग्न सकून भनेर कषकहरुलाई बालीनाली सम्बन्धी, महिलाहरुका लागि चप्पल बनाउने र ढाका बुनाईलगायतका तालीमहरु सञ्चालनलाई गाउँपालिकाले महत्व दिएको छ ।
गरिवी निवारण कार्यक्रम अन्तर्गत लघु उद्यम विकासका लागि चप्पल बनाउने १० दिने तालीम ढाका बुनाई तालिमजस्ता सिपहरु प्रदान गरि पालिकाबासीलाई आत्मनिर्भर बनाउने प्रयास गरेकोे गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो । अध्यक्ष कुँवरका अनुसार २९ जनाले चप्पल बनाउने तालीम लिएका छन् । यस्तो तालीम पहिला नै लिन पाएको भए अहिलेसम्म केही गर्न सक्ने रहेछौं भन्ने लागेको सहभागी सदस्य नन्दकुमारी खड्काले बताउनुभयो ।
त्यस्तै मेथा भुरुङमा १८ जनाले ढाका बुन्ने तालिम लिएका छन् । गाउँपालिकाले यस्ता सिपमुलक तालिमसंगै वार्षिकरुपमा किसान प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथामिकता दिएको अध्यक्ष कुँवरले बताउनुभयो । यसअघि गाउँपालिका भित्र ३ वटा समूहलाई आलु लगाउने सम्बन्धी आइपिएम कृषक पाठशाला तालीममा किसानहरुलाई सहभागी गराइएको हो । कृषक पाठशालाको सिकाईले धेरै ज्ञान लिन पाइएको र उत्पादनमा पनि वृद्धि भएको तालीम लिएपछि आलु खेति गरेका केशव लम्साल र एमुना लम्साल बताउनुहुन्छ ।
यसैगरी प्रविधिका क्षेत्रमा पनि बिभिन्न तालिममा युवाहरुलाई प्रशिक्षित गरिएको छ । यस अन्तर्गत डिस होम मर्मत तालीम युवालाई प्रदान गरिएको छ । एक टोल एक प्राविधिक उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा एक वडाबाट एक जनालाई तालीम दिइएको हो । डिस मिडिया नेटवर्क ( डिसहोम ) को प्राविधिक सहयोगमा तालीम प्रदान गरिएको हो । तालीममा डिसहोम जडान गर्ने तरिका, छाताको अवस्था, एवम् सिग्नल ठिक छ कि छैन भन्ने लगायतका सिकाई गराइएको छ । योसँगै अब गाउँमै युवाहरुले तालीम प्राप्त गरेपछि टेलिभीजनमा आउने सामान्य समस्याका लागि टाढाबाट प्राविधिक खोज्नुपर्ने समस्या हट्ने छ ।
त्यस्तै खेल क्षेत्रमा लाग्ने युवाहरुलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । युवाहरुलाई खेल सम्बन्धी ज्ञान लिनका लागि नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ललितपुरको सहयोगमा प्रशिक्षित गराइएको हो । गण्डकी प्रदेशमा एउटा मात्रै तालीम सञ्चालन गर्ने कार्यक्रम भए अनुसार बिरुवामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । तालीममा भलिबल, फुटबल, ह्याण्ड बल, कपर्दी, एथलेटिक्स गरी ५ वटा विधामा १५ दिने प्रशिक्षण सम्पन्न गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । यो प्रशिक्षण कार्यक्रममा छिमेकी पालिका भीरकोट र वालिङ नगरपालिकाका युवाहरुलेसमेत प्रशिक्षण लिएका थिए ।