समाचार
लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना बढे
वालिङ, २० बैशाख ।
लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना बढेका छन् । आफ्ना खेतबारीमा आगो जलाउँदा झाडी सफा हुने त्यहीँबाट आगो फैलने गरेका देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो ९ दिनको अवधिमा जिल्लामा धेरैले घरगोठ गुमाएका छन् भने आगलागीमा एक जनाको निधन र ३ जना घाईते भएका हुन् । बैसाख ६ गतेदेखि बैसाख १९ गतेसम्मको तथ्यांक अनुसार पात पतिङ्गर जलाउने क्रममा विरुवा गाउँपालिका ७ कुमेरदुङ की ७३ वर्षीय रेउसरी गुरुङको निधन भएको थियो भने यो अवधिमा आगो निभाउने क्रममा जिल्लाका ३ जना घाईते भएका छन् ।
कालिगण्डकी गाउँपालिका ५ लुम्सिङ की ५९ वर्षीय राधिका न्यौपानेको आगो निभाउने क्रममा दुवै हात र गालामा जलेर घाईते हुनुभएको छ भने पुतलिबजार नगरपालिका १३ सतौ भुजुङगेकी ७२ वर्षीय डासी कोईराला बारिको झारपात जलाउने क्रममा घाईते हुनुभएको थियो । त्यस्तै पुतलीबजार ११ करेनडाडाकी ४० वर्षीय गिता जिटि पनि घाईते हुनुभएको छ । घरमा आगलागी हुँदा घरको समान निकाल्ने क्रममा गिता घाईते हुनुभएको हो । आगलागीका कारण जिल्लामा घरगोठ जल्दा लाखौँको भौतिक संरचना जलेर नष्ट भएका छन् भने अन्नपात, घरमा रहेका नगद, जिन्सी, गरगहना समेत जलेका छन् । साथै पशुचौपाय समेत आगलागीको चपेटामा परी मरेका छन् ।
कालीगण्डकीको आठचौरका भरत पाण्डेको घरगोठ, तुल्सीराम न्यौपानेको गोठे थिरालाल न्यौपानेको कुखुरा फर्ममा समेत आगोलागीका कारण क्षति भएको छ । यस्तै कालीगण्डकीकै इम्सीलका महनिराम भट्टराईको गोठमा समेत आगोलागीले क्षति गरेको हो । यो बैसाख ६ देखि १९ गतेसम्मको अवधिमा गल्याङ नगरपालिका ५ जलुके बाथ्थलाका गुण बहादुर रानाको घरगोठ, भिम बहादुर रानाको घर, गल्याङ ५ को बेतेलेनी अनारुद्र बस्यालको ढुङ्गा घर गोठ समेत जलेको छ ।
अर्जुनचौपारीमा एक नारायण सुनारको गोठ, विरुवा गाउँपालिका ६ तल्लो बलेउकी बुकमाया नेपालीको घरगोठ, चौमाया नेपालीको घर, एक बहादुर वि.कको घरगोठ, दुर्गा बहादुर थापाको धन्सार जलेको छ ।
यस्तै गल्याङ छरककी गोमति थापाको घर, बेल बहादुर रानाको घर, नेहारसिंह थापाको गोठ जलेको छ भने आँधीखोला गाउँपालिकामा कुन्तिका सिचाई योजनाको पाईप जलेको छ । यस्तै विरुवामा जेठीमाया गुरुङको घरगोठ जलेको छ । यस्तै चापाकोट मैदानमा ३ ओटा परिवारको घरगोठ जलेको छ भने चापाकोटकै बीरडाँडामा दुई परिवारले घरगोठ गुमाएका छन् ।
पुतलीबजार१ गैह्रीबजारमा रामेश्वर बरालको घरगोठ जलेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आगोलागीका प्रकृति हेर्दा वनमा लगाईएको आगो अचानक वस्तीमा पस्दा स्थानीयले घरगोठ गुमाएका हुन् । भने केहि स्थानमा कुडो पकाउँदा समेत आगोलागी फैलन गई क्षति गरेको देखिन्छ ।
आगोलागीमा घरविहिन भएकाहरुलाई सम्बन्धीत पालिकाहरु, रेडक्रस सोसाईटी, विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जिल्ला रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्यालका अनुसार घरविहिन भएकाहरुलाई रेडक्रसले एक परिवारको लागी १७ हजारसम्मको राहत प्याकेज उपलब्ध गराएको जसमा त्रिपाल, कम्मल, भाँडाका सेटहरुलगायत रहेका छन् । आफन्त तथा तत्काल आश्रय लिन नसक्नुभएकाहरुलाई थप त्रिपाल पनि उपलब्ध गराईएको भन्दै यो बैसाख महिनाको अहिलेसम्म ३४ घरपविारलाई यो राहतको प्याकेज उपलब्ध गराईएको सभापति अर्यालले बताउनुभयो ।