अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङमा सरसफाई केन्द्रको व्यवस्थापन सम्बन्धी छलफल तथा अन्र्तक्रिया

news

 
रेडियो आँधीखोला
वालिङ, ३१ बैशाख ।
वालिङमा सरसफाई केन्द्रको व्यवस्थापन सम्बन्धी छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ । बायोमास अल्टरनेटिभ रिनेबल ईनर्जी प्रालिले शुन्य फोहोर व्यवस्थापनका विषयमा प्रकाश पारेको हो । नेपालमै निर्मित अत्याधुनिक मेसिनद्धारा फोहोर प्रशोधन गरी स्वच्छ वातावरण बनाउने उद्देश्यले अगाडि बढेको प्रालिले यसको सफल अभ्यासहरु जापानमा समेत गरिसकेको कम्पनीका प्रबन्धक अमृत थापाले बताउनुभयो । कम्पनीले फोहोरबाट प्रारङगीक मल, ग्रिन युरिया उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नै लगानीमा सरसफाई व्यवस्थापनको काम गर्ने जनाएको छ । 
नकुहिने फोहोर समेत एकैछिनमा नष्ट गर्ने प्रविधि वातावरणमैत्रि समेत रहेको थापाले बताउनुभयो । वालिङ नगरपालिकामा दैनिक १० टन फोहोर निस्कने गरेकोमा ३ टन कुहिने फोहोर निस्कने गरेको छ । कम्पनीले यहाँका ग्रामिण क्षेत्रमा रहेका झारपात, पातपतिङगर, पशुको मलमुत्र, सेफ्टीट्याङका फोहोरको समेत जापानी प्रविधिमा मल, कोईला, युरिया उत्पादन गर्ने जनाएको छ । 
नगरपालिकामा सम्झौता गरी नगरपालिका मार्फत कृषकलाई गाउँघरमा खेर गईरहेका पातपतिङगर समेत किनेर मल बनाउने योजना गरेको कम्पनीले जनाएको छ । यो योजनामा नगरपालिकाले र कम्पनीबीच सम्झौता भएमा नगरपालिकाको कुनै लगानी नरहने, २० वर्षे योजना हुँने, कम्पनीले विभिन्न डोनरहरुको माध्यमबाट १ अर्ब ३४ लाख लगानी गर्ने कम्पनीका प्रबन्धक थापाले बताउनुभयो । 
जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकालाई व्यवस्थित रुपमा अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रममा नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, एमालेका अध्यक्ष शोभाकान्त पौडेल, रास्वपाका प्रकाश अर्याल, समाजवादीका जगदीश गैह्रे, जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रेलगायतले नगरपालिका आम नागरिकको स्थानीय सरकार रहेको भन्दै जिल्लाका ११ वटै स्थानीय तह मध्ये वालिङ उदाहरणीय बन्नुपर्ने बताउनुभएको हो । 
नगरपालिकाले नागरिकहरुको हितमा काम गर्नुपर्ने भन्दै नगरपालिकाको युनिटि हुनुपर्ने र नगरको विकास र समृद्धिका लागी सम्पुर्ण पार्टी, संघसंस्था र आम नागरिक साथमा रहेको उहाँहरुको भनाई थियो । नगरपालिकाको सरसफाई केन्द्रको लागी मेसिन तथा औजारको खरिद एवं जडानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए । 
ठेक्का सम्झौता सकिएपछि खैरवाङगी निर्माण सेवाले वालिङको सरसफाई केन्द्रमा फोहोर प्रशोधन मेसिन ल्याएको र निशुल्क मेसिन दिन्छु फोहोर व्यवस्थापन गर्छ भन्ने एक पक्ष आईरहँदा नगरपालिकाले करौडौँको मेसिन खरिद गरेको भन्दै सहभागिले गुनासो गरेका थिए । फोहोर व्यवस्थापनमा उत्कृष्ठ पुरस्कार समेत हात पारेको वालिङमा फोहोर प्रशोधन मेसिन खरिद तथा औजार खरिद तथा जडान विषय विवाद बनेपछि सहभागिले प्रश्न गरेका हुन् । 
कुहिने नकुहिने फोहोर छुट्याउने मेसिन खदिरका लागी २०७८ साल माघ महिना १६ गते  खैरवाङगी निर्माण सेवासंग सम्झौता भएको थियो । २०७९ जेष्ठ मसान्तमा १ करोड ६ लाख १७ हजार ४८० रुपैँयमा मेसिन ल्याउने सम्झौता नगरपालिका र खैरवाङगी निर्माण सेवासंग भएको थियो । उक्त कम्पनीले सम्झौता समयमा मेसिन ल्याउन नसकेपछि २०८० असार मसान्तसम्म म्याद थपिएको थियो । म्याद थपिएको समयमा पनि मेसिन ल्यान नसकेको कम्पनीले म्याद थपको समयभन्दा झण्डै एक वर्षपछि मेसिन ल्याएको हो । 
यद्यपी २०८० फाल्गुन २४ गतेको नगरपालिका बोर्ड बैठकले भने कम्पनीले थपको म्यादमा पनि औजार खरिद तथा जडान कार्य नगरेको र पटक पटक ताकेता गर्दा पनि कम्पनीले अटेर गरेपछि सम्झौता तोड्ने निर्णय गरेको थियो । सम्झौता तोड्ने निर्णय गरेर ५ दिनको सूचना निकालेको र उक्त सूचना निकालेको ३ दिनमा कम्पनीले मेसिन सरसफाई केन्द्रमा ल्याएको थियो । 
२१ लाख २३ हजार पेस्की समेत लगिसकेको कम्पनीले पटक पटक ताकेता गर्दा मेसिन खरिद तथा जडान नगरेपछि बोर्ड बैठकले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो । कम्पनीले बैसाख १२ मा पेस्की रकम फिर्ता गरेको र अहिले एकाएक मेसिन ल्याएको छ । छलफल तथा अन्र्तक्रिया कार्यक्रम नगरप्रमुख कृष्ण खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपप्रमुख कविता तिवारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन वातावरण विपद तथा सरसफाई केन्द्रका प्रमुख मणिप्रसाद रेग्मीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...