समाचार
बयरघारीमा रमाइलो मेला हुने
रेडियो आँधीखोला
वालिङ, १ जेठ ।
स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा रमाइलो मेला हुने भएको छ । बयरघारी पिस युथ क्लबले समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा रमाइलो मेला गर्ने भएको हो ।
२५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भिरकोट खेलमैदानमा यहि जेठ १० गतेदेखि २० गतेसम्म रमाइलो मेला २०८१ को आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिनुभयो ।
रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता,विभिन्न किसिमका व्यापारीक स्टलहरु, रेल, डुङ्गा लगायतका मनोरञ्जनात्मक बालउद्यानका सामाग्री साथसाथै स्थानीय कलाकारसहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ विविध सांस्कृतिक कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
त्यस्तै लिग सिस्टम अनुसार खेलाइने भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताउनुभयो ।