समाचार
गरिमा विकास बैंकद्धारा आश्रममा पुगेर जेष्ठ नागरिकहरुलाई भत्ता वितरण
रेडियो आँधीखोला
वालिङ, ३ जेठ ।
गरिमा विकास बैंकले राम्दीको जेष्ठ नागरिक आश्रममा पुगेर जेष्ठ नागरिकहरुलाई भत्ता वितरण गरेको छ । गरिमा विकास बैंक गल्याङ शाखाले स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेको जेष्ठ नागरिक आश्रममा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरु बैंकसम्म आउन समस्या हुने भएकाले आश्रममा नै पुगेर भत्ता वितरण गरिएको गरिमा विकास बैंक गल्याङ शाखा प्रमुख यज्ञमुर्ति न्यौपानले जानकारी दिनुभयो ।
यसैबीच सोही आश्रममा ‘एक दिन एक दाता’ कार्यक्रम अन्तर्गत राधा माधव समिती नेपाल, स्याड्जाले भोजन स्वरुप ६,०००÷– रुपैयाँ सहयोग गरेको छ । यस्तै, हैदरावाद, भारतका पर्यटकहरुको समूहले पनि आश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि ६,१००÷– सहयोग गरेको छ । आश्रममा जन्मोत्सव, विवाह उत्सव, स्मृति दिवस लगायतका अवसरहरुमा विभिन्न व्यक्ति तथा संस्थाले भोजनका लागि रकम सहयोग गर्दै आएका छन् ।
आश्रममा एक दिन एक दाता कार्यक्रम नै संचालन गरेर हरेक दिन फरक फरक दाताहरुबाट प्राप्त सहयोगले आश्रममा रहनुभएका जेष्ठ नागरिकहरुलाई भोजन खुवाउने गरिएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।