समाचार
विद्युत महशुल वृद्धिमा वाणिज्य संघहरुको संयुक्त विज्ञप्ति
रेडियो आँधीखोला
वालिङ, ७ जेठ ।
बुटवल पावर कम्पनी लिमिटेडले विद्युत महशुल वृद्धि गरेको विरोधमा स्याङ्जाका उद्योग वाणिज्य संघहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ, गल्याङ उद्योग वाणिज्य संघ, चापाकोट उद्योग वाणिज्य संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा, ईलाका प्रशासन कार्यालय वालिङ, विद्युत नियमन आयोग काठमाडौ, बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जलविद्युत केन्द्र गल्याङ, बुटवल पावर कम्पनी लिमिटेड विद्युत वितरण केन्द्र वालिङलाई बोधार्थ गरी ज्ञापन पत्र प्रकाशन गरेको हो ।
उबासंघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, उबासंघ भीरकोटका अध्यक्ष जगदिश कोईराला, उबासंघ गल्याङका अध्यक्ष डोलप्रसाद श्रेष्ठ, चापाकोट उबासंघका अध्यक्ष निर्मल राना, उबासंघ वालिङका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र महासचिव रमेश अर्यालद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जेष्ठ १ गतेबाट लागू हुने गरी विद्युत महशुल वृद्धि गरेको सम्बन्धमा यस क्षेत्रका व्यापारी व्यवसायी लगायत आम उपाभोक्ताहरुबाट पटक पटक ध्यानार्कषण गराउँदै आएको र हाल देशमा रहेको विषम आर्थिक अवस्थामा पनि मुल्य वृद्धि नगर्न अनुरोध गर्दागर्दै पनि मुल्य वृद्धि भएको भन्दै यस क्षेत्रले आपत्ति जनाएको उल्लेख गरिएको छ ।
आम सर्वसाधारणको दैनिक जिवनयापनको अत्यावश्यक आधारभुत सेवा तथा उद्योग, व्यापार, व्यवासयको क्षेत्रमा नियमित आवश्यक पर्ने उर्जाको रुपमा रहेको विद्युतको मुल्य वृद्धि हुँदा उत्पन्न हुने वस्तु तथा सेवाको पनि मुल्य वृद्धि हुन जाने र समग्रमा सर्वसाधारण नै मारमा पर्ने उल्लेख गरिएको छ ।
जलस्रोतको धनी देश र विद्युत उत्पादनको प्रभावित क्षेत्रमा निश्चित रुपमा सहुलियत दरको विद्युत उपभोग गर्न पाउनु यस क्षेत्रका नागरिकको नैसर्गिक अधिकार भएको भन्दै बुटवल पावर कम्पनीले विद्युत नियमन आयोगका समय सिद्धिन लागेका समिति पदाधिकारीलाई प्रभावमा पारी मुल्य बढाएको उल्लेख गरिएको छ । विद्युतको महशुल बढाउने कुरा आपत्तिजनक रहेको भन्दै जिल्लाभरीका उद्योग वाणिज्य संघहरुको प्रतितिधिहरुको बैठक बसी साझा धारणा सहित तत्काल मुल्य वृद्धि फिर्ता गर्न वा पुनः समायोजन गर्न माग गरिएको छ ।