समाचार
‘स्टिमर’मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
रेडियो आँधीखोला,
वालिङ १२ जेष्ठ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौडेलले खेलकुदका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहांले व्यक्त गर्नुभयो ।
‘कालीगण्डकी क्षेत्रको आर्थिक, धार्मिक, पर्यटकीय एवम् सांस्कृतिक महत्वको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका यस प्रतियोगिताले गर्नेछ’, लेखा समिति सभापति पौड्यालले भन्नुभयोे । धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उहांको भनाइ छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो । उहांका अनुसार जिल्ला–जिल्लामा रहेका बुद्धिचाल सङ्घको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चारजना खेलाडी सहभागी भएका हुन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः सात, पाँच र तीन हजार रुपियाँ पुरस्कार पाउनेछन् । उद्घाटन खेल स्टिमरमा खेलाईए पनि अन्य खेलहरु कालीगण्डकी गाउँपालिकाको कार्यालयमा खेलाईनेछ ।
प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले रु तीन लाख र गण्डकी प्रदेश खेलकुद परिषदले तीन लाख रुपैयाँ विनियोजन गरेका छन् । स्याङ्जाको आँधीमुहानमा रहेको जलाशयमा सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा रहेको सेतीवेणी शिलासम्म सहजरुपमा यात्रा गर्न सकिन्छ । कुनै बेला यात्रु तथा सामान ढुवानीको मुख्य साधनका रुपमा स्थापित भएको स्टिमर सेवा अहिले कालीगण्डकी कोरिडोर खुलेसँगै प्रभावकारी हुँदै जान थालेको छ ।