समाचार
किसानलाई उद्यमशीलतामा जोड्दै स्याङ्जाका पालिका
रेडियो आँधीखोला
वालिङ, १५ जेठ ।
स्याङ्जाका पालिकाहरूले साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न कार्यक्रम सुरु गरेका छन् । कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशील बनाउन जिल्लाका पालिकाहरू योजनाबद्ध रूपमा काम गर्न लागेका हुन् ।
जिल्लाका वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाले हेफरसँगको सहकार्य मार्फत साना किसान, महिला, दलित, सीमान्तकृत समूहलाई आर्थिक रूपमा सबल बनाउने गरी काम गरिरहेका छन् । ११ पालिका रहेको स्याङ्जामा अधिकांश पालिकाहरूले विभिन्न संघसंस्थासँगको सहकार्यलाई बढाउँदै लगेका छन् । कृषि, पशुपालन र फलफूल खेतीलाई प्राथमिकतामा राखेर पालिकाहरूले काम गरिरहेका हुन् ।
पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेको भन्दै गाउँमा नै राम्रो आम्दानी गर्न सक्ने आधार तय गर्न हेफरसँग सहकार्य गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले बताउनुभयो । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर संघसंस्थासँगको सहकार्यमा नागरिकलाई उद्यमी बनाउन लागिएको प्रमुख खाँणको भनाइ छ ।
‘भोकालाई एक छाक भोजन होइन, जीवन जिउने जुक्ती सिकाऔँ’ भन्ने अभियानका साथ विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गरिँदै आएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । पालिकालाई कृषि विकासमार्फत समृद्ध नगर बनाउने अभियानमा लागेको उहाँको भनाइ छ ।
महिलालाई आर्थिक रूपमा सक्षम बनाउने अभियानका साथ कृषि र पशुपालनको क्षेत्रमा नवीनतम काम सुरु गरिएको काली गण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो । नेपालमा नै काम गर्नुपर्छ भन्ने सोचमा परिवर्तन गराउन हेफरसँगको सहकार्य प्रभावकारी हुँदै गएको अध्यक्ष थापाको भनाइ छ ।
जिल्लाका तीन पालिकामा सञ्चालन हुने तीन परियोजनामा चार हजार दुई सय पचास परिवार उद्यमशीलतामा प्रत्यक्ष रूपमा जोडिने पालिकाहरूले जनाएका छन् । वालिङ नगरपालिकाका एक हजार छ सय, गल्याङ नगरपालिकाका एक हजार चार सय र कालिगण्डकी गाउँपालिकाका एक हजार दुई सय पचास परिवार प्रत्यक्ष रूपमा जोडिन लागेका हेफर नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्वयुले जानकारी दिनुभयो ।
तीन पालिकामा सञ्चालन हुने साझेदारी कार्यक्रमका लागि १० करोड १४ लाख २८ हजार पाँच सय ७१ लगानी हुनेछ । जसमा ७० प्रतिशत पालिका र ३० प्रतिशत हेफर प्रोजेक्ट नेपालको आर्थिक सहकार्य हुने प्रबन्धक साम्वयुले बताउनुभयो ।