समाचार
चापाकोट ९ को आयोजनामा तिन दिने उद्घोषण तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २९ जेठ ।
चापाकोट नगरपालिका वडा ९ मा ३ दिने उद्दघोषण तालिम सम्पन्न भएको छ । चापाकोट वडा नं. ९ द्धारा आयोजनामा जेठ २६ गतेदेखि सञ्चालित लक्षित समूह कार्यक्रम अन्र्तगतको बजेटबाट लक्षित वर्गका लागी आयोजना गरिएको तिन दिने तालिम आज सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै चापाकोट नगर प्रमुख देब बहादुर खाण(ईश्वर)ले नेतृत्व विकास लागी यस्ताखालका तालिम प्रभावकारी बन्ने बताउनुभयो । बोल्ने कलाको विकास गर्दै कुनैपनि क्षेत्रमा सफल रुपमा नेतृत्व लिन सक्ने बनाउन तालिमले सहयोग पुग्ने बताउँदै तालिममा सिकेका सीपको सदुपयोग गर्दै भोलिका दिनमा विभिन्न क्षेत्रमा आफूलाई अब्बल रुपमा उभ्याउन सकियोस् भन्दै सहभागीलाई शुभकामना दिनुभयो ।
उहाँले पालिकाले समेत महिलाको क्षेत्रमा निरन्तर कामगर्ने र महिलालाई विभिन्न प्रकारका सीप प्रदान गर्दै दक्ष र आत्मनिर्भर बनाउन लाग्ने बताउनुभयो । समापन कार्यक्रममा बोल्दै चापाकोट नगरपालिका ९ का वडा अध्यक्ष कृष्ण सुबेदीले महिलाको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभयो । आफ्नो कार्यकालमा महिलाहरूलाई क्षमतावान बनाउन, विभिन्न सीपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखी काम गर्ने समेत वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।
कार्यक्रममा मेलमिलाप संयोजक शेसकान्त भण्डारी, सहभागिको तर्फबाट सन्तोश पंगेनी लगायतले बोल्नुभएको थियो । तीन दिनसम्म वडा नम्बर ९ को सिटीहल भवनको हलमा भएको उद्घोषण तालिममा वडा भित्र रहेका विभिन्न टोलका गरि ८५ जना महिलाहरूको सहभागिता रहेको थियो । ३ दिने तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आधिखोला समाचार प्रमुख कला रानाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम ९ का वडा अध्यक्ष कृष्ण प्रसाद सुवेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शंकर भण्डारीले गर्नुभएको थियो भने सञ्चालन सबिना श्रेष्ठले गर्नुभएको थियो ।