समाचार
नेकपा एमाले स्याङ्जाको ७ पालिकामा अधिवेसन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २९ जेठ ।
नेकपा एमाले स्याङ्जाको ७ पालिकामा नयाँ कमिटि निर्माण गरिएको छ । ११ पालिका रहेको स्याङ्जामा अहिलेसम्म ७ पालिकाहरुको अधिवेसन सम्पन्न भएको छ । अहिलेसम्म पुलतीबजार नगरपालिका, आँधीखोला गाउँपालिका, फेँदिखोला गाउँपालिका, भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिका र कालीगण्डकीमा पार्टी अधिवेसन सम्पन्न भई नयाँ कमिटि गठन गरिएको एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले बताउनुभयो ।
सम्पन्न भएका ७ पालिकाहरुमध्ये चापाकोट र पुतलीबजारमा निर्वाचन प्रणालीबाट नयाँ कमिटि निर्माण गरिएपनि अन्य ५ वटा पालिकामा भने सर्वसम्मत नयाँ कमिटि निर्माण गरिएको अध्यक्ष पारसले बताउनुभयो ।
भीरकोटमा हर्क गुरुङ्को अध्यक्षतामा नयाँ कमिटि निर्वाचित भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा गोकुल अधिकारी, सचिवमा केशरजंग अधिकारी र उपसचिवमा पर्वत खाम्चा र सम्झना थापा रहनुभएको ५३ सदस्यीय नगर कमिटी गठन भएको हो । अर्जुनचौपारीमा चक्रबहादुर गुरुङको अध्यक्षतामा कमिटि सर्वसम्मत गठन गरिएको हो भने आँधीखोला गाउँपालिकामा शिव पौडेलको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन गरिएको छ ।
त्यस्तै पुतलीबजार नगरकमिटिको अध्यक्षमा रेशमबहादुर केसी सोभियत निर्वाचित हुनुभएको थियो भने केसीको अध्यक्षतामा ७५ सदस्यीय कमिटि निर्माण भएको हो । त्यस्तै चापाकोटमा राजु कोईराला अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै कालीगण्डकीमा इन्द्रबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन भएको छ भने फेदिखोलामा हर्कबहादुर कार्कीको अध्यक्षतामा ५५ सदस्यीय कमिटि निर्माण गरिएको हो । स्याङ्जामा पार्टीलाई बलियो तथा एकतावद्ध बनाउँदै नागरिक र राष्ट्रको हितमा नव निर्वाचित कमिटिहरुको महत्वपुर्ण भुमिका रहने जिल्ला अध्यक्ष गैह्रेले बताउनुभयो ।
अध्यक्ष गैह्रेले भन्नुभयो, “एउटा जिवन्त पार्टी निर्माणको लागी गरिने नियमित अविधेसनमार्फत जनवादको अभ्यास गरेका हौँ । सबै प्रतिष्पर्धीहरुको एउटै उद्देश्य पार्टीलाई एकतावद्ध र बलियो बनाउनु हो । कम्युनिष्ट आन्दोलन र समृद्धिको अभियानमा योगदान दिनु सबै नेता कार्यकर्ताको कर्तव्य र दायित्व हो । यही भावनाले साथीहरु अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।” बाँकी रहेको वालिङ, गल्याङ र विरुवामा पनि छिट्टै अधिवेसन हुने उहाँले बताउनुभयो । अध्यक्ष गैह्रेका अनुसार वालिङमा असार ७ र ८ गते, विरुवामा १२ गते र गल्याङमा १४ गते अधिवेसन हुनेछ । हरिनास गाउँपालीकाको अधिवेशन भने स्थगित भएको छ ।