अहिले तरंगमा

केहि छिनमा

समाचार

गल्याङको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, ३० जेठ ।
गल्याङ नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले गरिरहेको सेवा प्रवाह तथा विकास निर्माणका विषयमा बुधबार सार्बजनिक सुनुवाई गरिएको हो । सिटीहलमा भएको कार्यक्रममा नगर प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाको चौतर्फी विकासका लागि आफुहरु लागिरहेको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनलाई परिचालन गर्दै नगरपालिकालाई विकासको गतिमा अघि बढाइएको बताउनुभयो ।
 
नगरप्रमुख भट्टराईले नगरपालिकामा भएको झण्डै साढे चार सय किलोमिटर ग्रामिण बाटोको स्तरउन्नती एकैपटक नहुने भन्दै स्तरउन्नतीमा क्रमश लागिरहेको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले उत्पादन बृद्धि गरि निर्यातका लागि निरन्तर प्रयास भैरहेको र केही नतिजाहरु द्येखिएको भन्दै उहाँले अनुदानको कहीं दुरुपयोग भएको भए जानकारी दिन आग्रह गर्नुभयो ।
 
सफलता के कुरालाई मान्ने भन्नेमा बुझाईमा केही समस्या रहेको भन्दै उहाँले नगरपालिकाको सेवा प्रवाहमा भएका प्रगतिहरुको सकारात्मक समिक्षा हुनुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले विपन्न परिवारका लागि आफुले निरन्तर काम गरेको भन्दै नगरपालिकाले आफन्त नभनी आवश्यकताको आधारमा काम गरिरहेको बताउनुभयो ।
 
उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै उहाँले नगरपालिकाले वास्तविक किसानलाई निश्पक्ष भएर सहयोग गर्न कृषि र पशु शाखालाई भनिरहेको स्पष्ट पार्नुभयो । नगरप्रमुख भट्टराईले बुटवल पावर कम्पनीको आँधीखोला वितरण केन्द्रका ग्राहकहरुका लागि शुल्क बढाएको सन्दर्भमा आफुले विज्ञप्ति मार्फत विरोध गरिरहेको भन्दै अन्य पालिकासँग समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।
 
उहाँले एक घर एक धारा निर्माण गर्ने, वडा कार्यालय नभएका वडाको आफ्नै कार्यालय बनाउने तथा वडा कार्यालयसम्म पुग्नका लागि पक्की सडक बनाउने तथा मुख्य सडकबाट सहायक बाटोहरुको कालोपत्रे गर्न लागिरहेको बताउनुभयो ।
 
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाले चालु आर्थिक वर्षमा गरिरहेको कामका विषयमा जानकारी दिनुभएको थियो । उहाँले प्रशासकीय हिसाबले पनि चालु आर्थिक वर्षमा नगरपालिका तथा वडा कार्यालयहरुमा धेरै कामहरु भएको बताउनुभयो ।
 
कार्यक्रममा नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष चित्र राना सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नगरपालिकालाई प्रश्न तथा सुझाब दिनुभएको थियो । कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने तिमिल्सीना, ११ वटै वडाका वडाअध्यक्षहरु तथा नगर कार्यपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । गल्याङ सञ्चार प्रा.लि गल्याङ एफएमले सहजीकरण गरेको सार्बजनिक सुनुवाई कार्यक्रमको सञ्चालन प्रबन्धक केपी खनालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...