समाचार
भीरकोट नगरपालिकाले वर्गीकरण नभएको फोहर नउठाउने
रेडियो आँधीखोला
वालिङ, १ असार ।
स्याङ्जाको भीरकोट नगरपालिकाले वर्गीकरण नभएको फोहोर नउठाउने निर्णय गरेको गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था पुर्नताजगी गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो । भीरकोटमा यस अगाडि छुट्याईएर नै फाहोर उठाउने गरिएपनि केहि समयदेखि फोहोर वर्गीकरिण नगरीकन उठाउने गरिएको थियो । मुख्य मन्त्री नवप्रर्वतन कार्यक्रम अन्तर्गत सुरू भएको सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त नगरपालिका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सो व्यवस्था लागू गर्न खोजिएको पालिकाले जनाएको छ ।
फोहोरमैला वर्गीकरणलाई प्रभावकारी बनाउन टोलटोलमा सचेतना कार्यक्रम समेत गरिएको छ। फोहोरमैला बढी उत्सर्जन हुने वडाका नागरिकलाई सचेतना प्रदान गरिएको रोजगार संयोजक वसन्त बस्नेतले जानकारी दिनुभयो । उहांका अनुसार वडा नं १,२, ४ र ६ मा आमा समूह, टोल विकास समितिका पदाधिकारी,युवा क्लबका सदस्यहरूलाई सचेतना प्रदान गरिएको हो । उनीहरूलाई फोहरमैला वर्गीकरणको महत्व, प्लास्टिकजन्य फोहोरमैलाबाट वातावरणमा पर्ने असर, प्लास्टिकजन्य झोलाको सट्टा कपडाको झोला प्रयोग गर्दा वातावरणमा हुने फाइदाका प्रशिक्षण दिइएको हो । प्रशिक्षक कृष्ण भण्डारीले सचेतना कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
प्लास्टिकजन्य फोहरमैला न्यूनीकरण गर्न सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त नगरपालिका कार्यक्रम मार्फत करिब १३ हजार सपिङ ब्याग निशुल्क बाड्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । असार १५ देखि नगरपालिकामा रहेका करिब ६ हजार घरधुरीलाई कम्तिमा २ वटाका दरले नगरपालिकाको लोगो सहितको सपिङ ब्याग वितरण गरिनेछ ।
कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै २० जना महिला उद्यमीलाई १ हप्ते झोला सिलाउने तालिम दिइएको थियो । प्लास्टिकको प्रयोगबाट वातावरणमा पर्ने असर, फोहोरमैलाको वर्गीकरण लगायतका विषयमा जनचेतना जगाउन र झोला वितरणमा करिब ३१ लाख रूपैयाँ खर्च हुने पालिकाले जनाएको छ ।