समाचार
स्याङजाका स्थानीयतहमा झण्डै ५ करोड रकम अनियमित रुपमा खर्च
रेडियो आँधीखोला
वालिङ, ४ असार ।
महालेखापरीक्षकको कार्यालले सार्वजनिक गरेको प्रतिवेदनमा स्याङ्जाका अधिकांश पालिकाहरु आर्थिक सुशासनमा लापरवाही गरेको देखिएको छ । कुनै पनि कार्यालय होस वा संघसंस्थाको आर्थिक सुशासनका सुचकहरु राम्रा भएमा पार्दशिता, जवादेहीता र असल अभ्यास रहन्छ भन्ने मान्यता छ । तर महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले स्याङ्जाका स्थानीयतहको अवस्था सन्तोषजनक देखाएन । आर्थिक बर्ष ०७९÷०८० को बार्षिक प्रतिवेदनको लेखापरीक्षणले बेरुजु रकम घटाउने संकेत देखाएको भएपनि आर्थिक सुशासनमा भने हरेक बिषयमा सुझाव र टिप्पणी उठाएको छ । ११ ओटै पालिकाको लेखापरीक्षकबाट सबैभन्दा धेरै रकम अनियमित रुपमा खर्च गरेको देखाएको छ । आर्थिक बर्ष २०७९÷०८० मा स्याङ्जाका ११ ओटै पालिकाले झण्डै ५ करोड रकम अनियमित गरेको देखाएको हो ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार स्याङ्जाका पालिकाले ४ करोड ७७ लाख ३३ हजार २ सय ७२ रुपैयाँ रकम अनियमित भएको उल्लेख गरेको छ । बिधि, प्रक्रिया र कानुन विपरीत पालिकाहरुले अनियमित रुपमा रकम खर्च गर्ने गरेको देखिएको छ । ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पतिको संरक्षण, स्रोत साधनको प्राप्ति र उपयोग, बजेट व्यवस्थापन र राजस्व संकलन, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृति एंव कार्यन्वयन, उपभोक्ता समितिलाई अनुदान वितरण तथा अनुगमन र सेवा प्रवाह लगायतका बिषयमा सुधार गर्नुपर्ने राय महालेखापरीक्षकले पालिकाहरुलाई दिएको छ । अधिकांश पालिकाहरुले दोहोरो भत्ता, प्रक्रिया नपु¥याई रकम वितरण, उपलव्धी विनाको भ्रमण, आवश्यकता बेगर सामाग्री खरिद, कार्यालय आफैले गर्न सक्ने काम उपभोक्ता मार्फत गराउने, कर्मचारीलाई प्रोत्साहन भत्ता, स्थानीय सरकार संचालन ऐन विपरीत कर्मचारी राख्ने लगायत बिषयमा अनियमित खर्च गर्ने गरेको उल्लेख गरेको छ ।
११ ओटा पालिका मध्ये सबैभन्दा धेरै अनियमत वालिङ नगरपालिकाले गरेको देखिएकोछ भने अनियमित रुपमा खर्च नगर्ने पालिकामा कालीगण्डकी गाउँपालिका रहेको छ । नगरपालिकामा वालिङ रहेको छ भने गाउँपालिकामा हरिनास गाउँपालिका सबैभन्दा धेरै अनियमित रुपमा खर्च गर्नेमा रहेको छ । वालिङ नगरपालिकाले १ करोड ६३ लाख १८ हजार २ सय ९१ रुपैया अनियमित खर्च गरेको महालेखाले देखाएको छ ।
हरिनास गाउँपालिकाले १ करोड ६ लाख १० हजार ८ सय १७ रुपैया अनियमित रुपले खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी भीरकोट नगरपालिकाले ६३ लाख २० हजार ५ सय ९९, गल्याङ नगरपालिकाको ५ लाख ८८ हजार ५ सय, चापाकोट नगरपालिकाले ३५ लाख २४ हजार ८ सय र पुतलीबजार नगरपालिकाले २५ लाख ३३ हजार ५ सय ९६ रुपैयाँ अनियमित तवरले खर्च गरेका छन् ।
गाउँपालिकातर्फ आँधीखोला गाउँपालिकाले ३५ लाख ६६ हजार ६ सय ६४, अर्जुनचौपारी गाउँपालिकाले ११ लाख ५ हजार १८, बिरुवा गाउँपालिकाले ११ लाख ४० हजार ३ सय ४७, फेदिखोला गाउँपालिकाले २० लाख २४ हजार ६ सय ४० रुपैयाँ पालिकालाई व्ययभार पर्नेगरी अनियमित खर्च गरेका छन् ।