समाचार
फरक क्षमता भएकाहरुका लागी साबुन बनाउने तालिम
रेडियो आँधीखोला
वालिङ, ११ असार ।
वालिङ १ वडा कार्यालयको सभाहलमा फरक क्षमता भएकाहरुका लागी साबुन बनाउने तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको समन्वय र वालिङ अपांग संजालको आयोजनामा आयोजित ४ दिने लुगा धुने साबुन बनाउने तालिमको मंगलबार समापन गरिएको हो । तालिमको समापन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारीले फरक क्षमता भएकाहरुलाई उद्यमशीलतामा लाग्न नगरपालिकाले प्रेरित गर्दै आएको भन्दै तालिमको सही उपयोग गर्न आग्रह गर्नुभयो । घरमै बसेर पनि गर्न सकिने सामान्य खालका उद्यमहरुमा फरक क्षमता भएकाहरुलाई समावेश गर्न सकिने भन्दै उहाँहरुको उपजको बजारीकरण गर्न र थप अगाडि बढ्नका लागी आवश्यक सहयोग नगरपालिकाले गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले सिकेको तालिम व्यवहारमा उर्तान आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, कार्यपालिका सदस्य युगमाया पंगेनी, कार्यपालिका सदस्य सिता विक र देविमाया विकलगायतको पनि सहभागिता थियो । तालिममा १४ वटै वडाका २८ जनाको सहभागिता रहेको थियो भने तालिममा धनबहादुर सार्कीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वालिङ अपांग संजालका अध्यक्ष डेलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव दुर्गा न्यौपानेले गर्नुभएको थियो । तालिममा सोडियम, कास्टीक सोडा, पाम ओएल र घ्युको मिश्रणबाट साबुन बनाउन सिकाईएको थियो ।