समाचार
नेकपा एमाले वालिङ नगर कमिटीको सपथ ग्रहण
वालिङ, १५ असार ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको नव निर्वाचित वालिङ नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको यही असार ७ र ८ गते आयोजित दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो । एमाले वालिङ नगर कमिटीका नवनिर्वाचित अध्यक्ष शोभाकान्त पौडेलले सपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण कार्यक्रममा सम्वोधन गर्दै एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले समाज रुपान्तरणका खातिर नेपाल कम्युनिष्ट पार्टी एमाले बनेको बताउनुभयो । समाज रुपान्तरणसहित राष्ट्र निर्माणको अभियान बोकेको पार्टीका नेता कार्यकर्ताहरु उत्कृष्ट काममा लाग्न उहाँको आग्रह छ । हिजोको जस्तो समय नभएको भन्दै सचिव अर्यालले नीति र प्रविधिसँगै जानसक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नीति मूख्य कुरा हुन्छ, अहिले प्रविधिको समय हो, त्यसैले सहि विचार र दृष्टिकोणको साथमा प्रविधिसँगै जान सक्नुपर्छ ।”
यसकासाथै उमेरका आधारमा भन्दा पनि काम गर्ने क्षमता र इच्छाशक्तिका आधारमा जिम्मेवारी दिन सक्नुपर्ने उहाँको भनाई छ । आगामी तीनवर्षे कार्यकालका लागि आज ७२ जनाले सपथ ग्रहण गरेका छन् । विभिन्न क्लस्टरका अरु तीन जना सदस्य पछि थप गरिने र ७२ को १० प्रतिशत मनोनितसहित ८३ सदस्यीय नगर कमिटि बन्ने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।