समाचार
पुतलीबजार नगरपालिका १ मा मेलमिलाप केन्द्र स्थापना
रेडियो आँधीखोला
वालिङ, १८ असार ।
पुतलीबजार नगरपालिका १ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडाभित्र रहेका देवानी प्रकृतिका मुद्धालाई वडामा मिलाउने उदेश्य सहित मेलमिलाप केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कुनै ब्यक्तिका पक्ष विपक्षमा नलागी वास्तविक पिडितलाई न्याय दिलाउने काम गर्न सुझाव दिनुभयो । उहाले दुबै पक्षलाई जीत जीतको अनुभूति गराई समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । वडाभित्रका समस्यालाई सकभर वडाभित्रै मिलाउने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउदै उहाँले नगरपालिका भित्रका १४ वटै वडामा पनि क्रमश ः मेलमिलाप केन्द्र स्थापना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ र सुरेन्द्र केसी, मेलमिलाप सहजकर्ता संयोजक छायादत्त सापकोटा लगायतले मेलमिलापबाट न्याय दिलाउने प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उपप्रमुख देवी अर्यालकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यायिक समिति शाखा प्रमुख सृजना लामिछानेले गर्नुभएको थियो ।
करिब दुई महिनाअघि पुतलीबजार नगरपालिकाले वडा बडामा रहनेगरी मेलमिलाप सहजकर्तालाई साताब्यापी प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षणपश्चात वडा नं १ मा ५ जना मेलमिलापकर्ता छन् । उपप्रमुख देवी अर्यालले सहजकर्तालाई सपथ खुवाउनु भएको थियो भने सदस्य सुरेन्द्र केसीले आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो । वडामा छायादत्त सापकोटा, इन्द्रेणी अधिकारी, देवी पौडेल, शान्ता पौडेल, दुर्गा पौडेल मेलमिलापकर्तामा सूचिकृत हुनुभएको छ ।