समाचार
अर्जुनचौपारी आँखाउपचार केन्द्र स्थापनाको एक वर्ष नपुग्दै ७०० बढीको उपचार
वालिङ, १९ असार ।
स्याङ्जाकोअर्जुनचौपारी गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा आफ्ना पालिकाबासीलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । आँखा उपचार सेवा दिने उदेश्यले खोलिएको आँखा उपचार केन्द्र वरदान सिद्ध भएको छ ।
दुरदराजमा बसोबास गर्ने बासिन्दालाई स्याङ्जा, पोखरा जाने झण्झटबाट मुक्तिदिन मात्र नभई सुलभ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउन करिब एक वर्षअघि हिमालयन आँखा अस्पताल पोखरा तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोग र अर्जुनचौपारी गाउँपालिकाको सहजीकरणमा पालिकाको प्रशासकीय भवनमा आँखा उपचार सेवा सुरु गरिएको थियो ।
हाल निकै सहुलियतपूर्णदरमा आँखाको चेकजाँच तथा उपचार, औषधि वितरण, परामर्श सेवा, आवश्यकता अनुसार चस्मा निर्माण, अत्याधुनिक प्रविधिको प्रयोग गरी मेशिनबाटै आँखा सम्बन्धी सेवाहरु प्रदान गरिएको जानकारी आँखा उपचार केन्द्र अर्जुनचौपारीमा कार्यरत नेत्र सहायक सरिता गुरुङले दिनुभयो । उहांका अनुसार हालसम्म ६८९ जनाले सेवा लिएका छन । आँखाको शल्यक्रिया गर्नुपर्ने र विशेषज्ञ सेवा चाहिने अवस्थाका बिरामीलाई हिमालयन आँखा अस्पताल पोखरा सम्म पुर्याउने व्यवस्था समेत मिलाइएको छ ।
अर्जुनचौपारी गाउँपालिकाबाट मात्र नभई छिमेकी आँधीखोला गाउँपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाबाट समेत आँखाका बिरामीहरु सेवा लिन अर्जुनचौपारी पुग्ने गरेका छन् । अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले अब अर्जुनचौपारी गाउँपालिकाले हरेक विद्यालयलाई लक्षित गरी घुम्ती आँखा शिविर सञ्चालन गर्ने र अर्जुनचौपारी गाउँपालिकामा अध्ययनरत विद्यार्थी मात्रनभई शिक्षक समेतलाई नेत्र सेवा उपलव्ध गराउने गरी तयारी गरिएको छ ।