समाचार
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन गर्ने नयाँ प्रविधिको सफल प्रयोग
असार २०, काठमाण्डौ – महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।
सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो । एक हप्ताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको डा. भट्टराईले जानकारी दिनुभयो ।
यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो । यने कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । डा. भट्टराईले इटालीबाट आफूले यो प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो ।
डा. भट्टराईका अनुसार नयाँ प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा २४ लाख रुपैयाँ लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले यो प्रविधिबाट भल्ब परिवर्तन गर्न सात लाख रुपैयाँ लाग्ने जनाएको छ ।