समाचार
बिरुवा ६ लामाखेतमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
वालिङ, २३ असार ।
स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा हिजो दिउसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर मृत्यु हुनेहरुमा बिरुवा गाउँपालिका ६ माझकोट बस्ने ६७ वर्षीया हरिमाया शर्मा, सोही ठाउँ बस्ने ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।
माधव शर्मा र गुईश्वरी शर्मा मरासिनी दम्पत्ति हुन् भने हरिमाया शर्मा छिमेकी हुन् । उनीहरु बिरुवा गाउँपालिका ६ माझकोटस्थित आ–आफ्नै घरमा बस्दै आएका थिए । बिहान घरभन्दा झण्डै तीनसय मिटरमाथिबाट पहिरो खसेपछि भागेर ज्यान बचाउन सफल भएका थिए । आफ्नो घरमा बसेका बेला घरमाथिबाट पहिरो खसेर बस्न जोखिम भएपछि स्थानीय ईश्वरी लम्सालको घरमा लगेर राखिएको बिरुवा गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । सुरक्षित स्थान भनेर लगेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा तीन जनाको मृत्यु भएको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
एकपटक भागेर ज्यान बचाउन सफल भएपनि दोस्रोपटक पहिरोले पुरेरै छाड्यो । उक्त घटनामा सामान्य घाईते भएका पाँच जनाको स्थानीयवासी र बिरुवा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो ।