समाचार
भासिएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु
वालिङ, २३ असार ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ तुल्सीभञ्ज्याङमा सडक भासिएर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा सुचारु भएको छ । भासिएको सडक मर्मत गरेर बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो ।
शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको थियो । अविरल वर्षाकाकारण गएराति झण्डै ५० मिटर सडक भासिएको हो । झण्डै ५० मिटर लम्बाई र ३ मिटर चौडाई साविकको ठाउँबाट झण्डै एक मिटर तल झरेको थियो ।
भासिएर अवरुद्ध भएको सडक मर्मत गरी एकतर्फी सञ्चालनमा आएसँगै यात्रुहरु गन्तब्यतर्फ लागेका छन् । भासिएको सडक सुचारु भएसँगै अहिले स्याङ्जा जिल्ला भएर जाने सिद्धार्थ राजमार्ग पूर्णरुपमा सुचारु भएको उहाँले बताउनुभयो । सिद्धार्थ राजमार्ग हुँदै ग्रामीण क्षेत्रहरुमा जाने अन्य सहायक मार्गहरु भने अविरल वर्षासँगै पहिरो गएकाले यातायात अवरुद्ध भएको छ ।